भक्तपुरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको रंगशाला



भक्तपुर । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका– १० नं वडाको पलाँसे र चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीको जग्गामा रंगशाला निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त तथा जग्गा पहिचान, अध्ययन तथा छनौट कार्यदलका सहसंयोजक नवराज प्याकुरेलले जानकारी दिए ।

अन्तराष्ट्रियस्तरको रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने गरी काम अगाडि बढाइने भएको छ । सो रंगशालामा तीनवटा खेल मैदानमध्ये एउटामा अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन हुनेछन् भने अन्य दुईमा राष्ट्रिय खेल सञ्चालन हुनेछन् ।

पचास हजार दर्शक क्षमता रहने यो रंगशालामा २५ हजार मोटरसाइकल, १० हजार चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ भने अन्य विभिन्न भौतिक पूर्वाधार समेत निर्माण गरिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ मा खेलकूदका लागि मात्र रु तीन अर्ब ७५ करोड विनियोजन गरेको छ ।

जेठ मसान्तभित्रमा कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउने बताउँदै प्याकुरेलले सूर्यविनायक र चाँगुनारायणका पाँचवटा वडालाई नयाँ नगर योजना (इशान) कार्यक्रम अन्तर्गत विकास गर्ने गरी सार्वजनिक जग्गाको पहिचान गरिएको जानकारी दिए ।

रंगशाला निर्माणका लागि नयाँ नगर योजना अन्तर्गत चाँगुनारायणको वडा नं ८ र ९ तथा सूर्यविनायक नगरपालिका–८, ९ र १० लाई छनौट गरिएको छ ।

रंगशाला निर्माणका लागि पहिचान भइसकेको जग्गा व्यवस्थित गरी ल्याण्ड पुलिङमार्फत त्यसको उचित मुआब्जा दिने र विस्थापित हुने अवस्थामा पुगेका बासिन्दाको हकमा घर बनाइदिएर बसोवास सहितको स्थानान्तरण गर्ने योजना सरकारले बनाएको छ । रासस


क्लिकमान्डु