यो बर्ष घरजग्गा क्षेत्रले ब्यहोर्यो गम्भीर धक्का




काठमाडौं । चालु आर्थिक बर्ष घरजग्गा ब्यवसायमा लाग्नेहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ । चालु आर्थिक बर्षको पहिला छ महिना (साउनदेखि पुससम्म) मा घरजग्गा कारोबार २० प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको ६ महिनाको आर्थिक गतिविधि तथ्यांकले यस्तो देखाएको हो ।

गत साउनदेखि पुस मसान्तसम्ममा नेपालभर जम्मा ३ लाख २९ हजार ५२६ वटा घरजग्गा रजिष्ट्रेसन पास भएको छ । जबकि गत आर्थिक बर्षको सोही अबधीमा ४ लाख १४ हजार ६२७ वटा लिखत पास भएको थियो ।

गत आर्थिक बर्षमा यस्तो लिखतको संख्या अघिल्लो आर्थिक बर्षको तुलनामा ६०.७ प्रतिशतले बढेको थियो । तर, गत आर्थिक बर्षमा यस्तो संख्या २०.५२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

घर÷भवन स्थायी नक्सा पासको संख्या गत बर्षको सोही अवधिको तुलनामा केही बढेको भएपनि बृद्धिदर भने घटेको छ । चालु आर्थिक बर्षको साउनदेखि पुससम्ममा ३१ हजार १४३ वटा नक्सा पास भएका छन् ।

गत आर्थिक बर्षको सोही अवधिमा २२ हजार ८०४ वटा नक्सा पास भएका थिए । अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा नक्सा पासको संख्या ९६.९१ प्रतिशतले बढेको थियो । गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा यस्तो संख्या ३६.५७ प्रतिशतले मात्रै बढेको छ ।

लिखत पासको संख्या घटेपछि चालु आर्थिक बर्षमा घरजग्गा रजिष्ट्रेसन राजस्व पनि उल्लेख्य रुपमा घटेको छ । गत साउनदेखि पुससम्ममा ७ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ राजस्व सरकारले प्राप्त गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा १० अर्ब ११ करोड १२ लाख रुपैयाँ यस्तो राजस्व उठेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा यस्तो राजस्व असुली ११०.१६ प्रतिशतले बढेको भएपनि गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा २१.५१ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु