फिर्ता लियो सरकारले हकप्रद र बोनस सेयरमा लाभकरकाे नयाँ ब्यवस्था




काठमाडौं । सरकारले हालै कार्यान्वयनमा ल्याएको हकप्रद र बोनस सेयरमा लाग्ने लाभकरको निर्णय स्थगन गरेको छ ।

अर्थमन्त्रालयका सहसचिब उत्तरकुमार खत्रीसँगको वार्तामा लगानीकर्ता र सरकारबीच यस्तो सहमति भएको हो ।

सरकारले अहिले ल्याएको लाभकर सम्बन्धी नयाँ ब्यवस्था स्थगन गर्ने र अन्दोलनकारीले पनि आन्दोलन स्थगन गर्ने सहमति भएको वार्तामा सहभागी इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले जानकारी दिए ।

‘सरकारले समिति गठन गरेर समस्या समाधान गर्न खोजिरहेको छ, समितिलाई १५ दिनको म्याद छ, सो समयसम्मको लागि सरकारले ल्याएको नयाँ ब्यवस्था स्थगन गर्ने र हामीले पनि आन्दोलन स्थगन गर्ने सहमति भएको छ, पत्र तयार हुदै गरेकोले हस्ताक्षर गरेर फर्कन हामी त्यही पत्र कुरिरहेका छौं,’ अध्यक्ष पौडेलले क्लिकमाण्डूसँग भने ।

सरकारले केही दिन अगाडि मात्रै बोनस र हकप्रद सेयरको लागत प्रतिकित्ता १०० रुपैयाँ मान्ने र सोभन्दा बढीमा त्यस्ता सेयर विक्री गरेमा जति बढीमा विक्री हुन्छ त्यसैको आधारमा पुँजीगत लाभकर तिर्नुपर्ने नयाँ ब्यवस्था गरेको थियो ।

सरकारको यस्तो ब्यवस्थाले लगानीकर्तालाई समस्या हुने भन्दै लगानीकर्ताका संघ संस्था आन्दोलनमा उत्रिएका थिए । लगानीकर्ताको आन्दोलनको कारण मंगलबार नेपाली पुँजी बजारमा सेयर कारोबार नै भएन भने बुधवार १ बजेसम्म पनि कारोबार सुरु भएको छैन ।


क्लिकमान्डु