अर्थमन्त्रीसँग कुरा गर्न गएका सेयर लगानीकर्ता सहसचिब भेटेर फर्के




काठमाडौं । सरकारले सेयर कारोबारमा ल्याएका कर सम्बन्धि नयाँ ब्यवस्थाले नकारात्मक असर पार्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा गर्न अर्थमन्त्रालय गएका सेयर लगानीकर्ताहरुको संस्थाका प्रतिनिधि मन्त्रालयका सहसचिबसँग कुरा गरेर फर्किएका छन् ।

सोमबार बिहान नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धर्ना दिएकै समयमा अर्थमन्त्रीकोबाट बोलावट आयो भन्दै मन्त्रालय लागेका लगानीकर्ता संघका प्रतिनिधिले अर्थमन्त्रालयका सहसचिबसँग कुरा गरेर फर्किएका हुन् ।

अर्थमन्त्रालयले बोलायो भन्दै नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारी मन्त्रालय गएका थिए ।

मन्त्रालयमा उनीहरुले सहसचिब मुकुन्द प्रसाद पौडेलसँग कुरा गरेर फर्किएका छन् । सो कुराकानीमा लगानीकर्ताको ३ वटै संस्थाका प्रतिनिधि, नेप्से, आन्तरिक राजस्व विभाग र सिडिएसका प्रतिनिधि पनि सहभागी थिए ।

सो भेटमा लगानीकर्ताले आफ्नो समस्याका बारेमा सरकारी अधिकारीलाई अवगत गराएका र सरकारको तर्फबाट मन्त्रालय मातहत सरोकारवाला निकायसँग थप छलफल गर्ने आश्वासन दिइएको मन्त्रालय स्रोतले जानकारी दियो ।


क्लिकमान्डु