अर्थमन्त्री खतिवडालाई प्रत्यक्ष चुनाव लड्न कांग्रेस नेता गिरिको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरिले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् ।

उनले बजेट छलफलमा भाग लिँदै अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका हुन् ।

‘विगतमा अर्थतन्त्रको बारेमा जानकार डा देवेन्द्रराज पाण्डेले प्रत्यक्ष चुनाव लडेपछि धेरै कुरा बुझ्नु भएको थियो’,गिरिले भने ।

गिरिले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमु्खा सांसदको समस्या बुझ्न नसकेको बताए ।

‘सांसद पनि कस्ता भोकानांगा भने भूकम्पको ५ सय रुपैयाँको उ पनि लिएर जाने, सांसद पनि कस्ता भोका नांगा भने कुनै सुविधा पनि नछोड्ने । एक दुई जना होलान् सुविधा नलिने, सारा सुविधा चाहिने । तीनलाई तपाईले ठीक जवाफ दिनुभयो, सांसदहरुले यही जवाफ खोजेका थिए’ गिरिले भने ‘एक पटक विनम्रतापूर्वक भन्न चाहन्छु् अर्थमन्त्रीजीले प्रत्यक्ष चुनाव चाहिँ लड्नैपर्छ । अनि सांसदको कुरा बुझ्नुहुन्छ ।’

नेता गिरिले सांसद जत्तिको अपमानित र निरीह नेपालमा अरु कोही नभएकाले उनीहरुले अर्थमन्त्रीलाई ट्रयापमा पार्न नसक्ने दावी गरे ।

सांसद गिरिले अर्थमन्त्री सांसदको ट्रयापमा परेको नभई आफ्नो आर्थिक अनुशासन र ठूला नेताको पपुलिस्ट कार्यक्रमको ट्रयापमा परेको दावी गरे ।

‘आफूले एमएमा पढेको शिक्षा, पीएचडी गरेको शिक्षा र वर्ल्डबैंकसँग गरेको संगत एकातिर छ । नेताहरुको दबाब अर्कोतिर छ’ गिरिले भने ‘त्यसैले उहाँ आफ्नो अन्तरआत्माको र महाबली नेताको ट्रयापमा परेको हो ।’

नेताहरुले विजुलीबाट रेल चलाउने, चन्द्रमा पुर्याकउने सपना देखाए पनि हिसाब किताब गर्दा र आफ्नो विवेक प्रयोग गर्दा त्यो सम्भव नदेखिएपछि अर्थमन्त्री समस्यामा परेको नेता गिरिले बताए ।

अर्थमन्त्रीले बजेट ल्याउँदा केही ठूला नेताबाहेक कसैलाई नटेरेको गिरिले बताए । ‘जे उहाँको विवेकले देख्यो त्यही गर्नभएको हो । अब उहाँको विवेकको परीक्षा हुन्छ’ गिरीले भने ‘उहाँले बलिया बांगा नेतालाई बाहेक अरुलाई टेर्नुभएको छैन ।’


क्लिकमान्डु