घटेको बजारलाई अर्थमन्त्रीले ‘स्थीरता उन्मुख’ भनेपछि झन् घट्यो सेयर बजार




काठमाडौं । अन्य बर्षहरुमा बजेट ल्याउने दिन नजिकिदै जादा बढ्ने गरेको नेप्से परिसुचक यो साल उल्टो गतिमा छ । बजेट ल्याउने दिन जति नजिकिदैछ, पुँजी बजार मापक नेप्से परिसुचक पनि उति नै घट्दै गएको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते (अबको २ दिन पछि) ल्याउदै छ । आज (आइतबार) नै अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक बर्षको आर्थिक सर्बेक्षण संसदमा पेश गरेका छन् ।

आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डा. खतिवडाले पुँजी बजार स्थीरतातर्फ उन्मुख भएको बताए । उनी अर्थमन्त्री बनेदेखि नै सेयर बजार घटिरहनु र घट्दो बजारलाई स्थीरतातर्फ उन्मुख भएको भनेर अर्थमन्त्रीले ब्याख्या गरेपछि लगानीकर्ता थप निरास बनेका हुन् ।

आइतबार २ बजेट ४० मिनेट जादा नेप्से परिसुचक १६.१३ अंकले घटेर १३०२.०९ विन्दुमा आइपुगेको छ । सो समयसम्ममा ८ लाख ६० हजार ९८५ कित्ता सेयर ३१ करोड ४९ लाख ९१ हजार रुपैयाँमा खरिद विक्री भएका छन् ।

सेयर कारोबार समय अझै २० मिनेट बाँकी रहेकोले बजार बन्द हुने बेलासम्म नेप्सेले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने प्रतिक्षा नै छ । सेयर बजार ११ बजे खुलेर ३ बजे बन्द हुने गर्छ ।


क्लिकमान्डु