यो हप्ता बैंकमा आयो ८ महिना यताकै धेरै निक्षेप, के होला तरलता ?



काठमाडौं । पछिल्लो साता बैंकहरुका लागि निकै सुखद रह्यो । यो हप्ता बैंकहरुले वितेका ८ महिना यताकै सबैभन्दा धेरै निक्षेप संकलन गरेका छन् ।

निक्षेप बढेसँगै तरलता अभावको समस्या मथ्थर हुँदै जाने आशा पनि गरिएको छ ।

राष्ट्र बैंकका अनुसार बैशाख पहिलो साता बैंकहरुले १९ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् भने १५ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । निक्षेपको यो वृद्धिदर गत भदौ दोस्रो सातापछिको सबैभन्दा धेरै हो ।

भदौ दोस्रो साता बैंकहरुले एक सातामै २१ अर्ब रुपैयाँले निक्षेप बढाएका थिए । त्यसयताका केही हप्ता १२/१५ अर्ब रुपैयाँले निक्षेप बढेको थियो भने केही हप्ता २/३ अर्बले घटेको पनि थियो । औषतमा बैंकहरुको साप्ताहिक निक्षेप वृद्धि ७/८ अर्ब रुपैयाँले भएको थियो ।

बैंकमा निक्षेप नबढ्दा लगानी योग्य पुँजी (तरलता) को चरम अभाव भएको थियो । यसको अर्थ के हो भने पैसा नभएका कारण बैंकमा ऋण माग्न जाने धेरै ऋणीहरु रित्तोहात फर्किनु परेको थियो ।

पछिल्लो साताको जस्तै निक्षेपको बढ्ने हो भने बैंकिङ प्रणालीमा यसअघिको जस्तो तरलताको समस्या हुने छैन ।

बैंकहरुले २०७५ बैशाख २८ गते २२ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १९ खर्ब ७५ अर्ब रुपैयाँ ऋण दिएका थिए । तर, जेठ ४ गते बैंकहरुले २३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १९ खर्ब ७५ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

सरकारी खर्च पनि बढेको र रेमिट्यान्स पनि केही बढेकाले बैंकमा निक्षेप बढेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

‘सरकारी खर्च पनि बढेको छ, रेमिट्यान्स पनि केही बढेको छ,’ शेरचनले क्लिकमाण्डूसँग भने, ‘जसको प्रभाब बैंकहरुको निक्षेपमा देखिएको हो ।’

असार मसान्तसम्म यसरी नै निक्षेप बढ्ने हो भने बैंकिङ प्रणालीमा तरलता सहज हुनसक्ने उनको भनाइ छ ।

‘अहिले नै तरलता सहज भयो भन्न मिल्दैन, असारसम्ममा के हुन्छ हेरौं,’ शेरचनले भने ।

असारमा मोटो रकम करमार्फत सरकारी खातामा जाने र नेपाल वायुसेवा निगमको १५/१६ अर्ब रुपैयाँ ऋण पनि बाहिरिने भएकाले तरलता अभाव हुनसक्ने बैंकरहरुको अनुमान छ ।

तर, रेमिट्यान्स बढ्यो भने केही पैसा बाहिरिँदा पनि बैंकिङ प्रणालीमा तरलता सहज नै हुन्छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य बढेका कारण पनि रेमिट्यान्स बढ्नमा सहयोग पुगेको हो ।


पुष्प दुलाल