नियमित बर्षा र हिउँ पग्लेपछि विद्युत् उत्पादन बढ्यो




काठमाडौं । नियमित वर्षा तथा बढ्दो गर्मीका कारण नदीमा जलसतह बढेपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा विद्युत्को मात्रा बढ्दै गएको छ ।

प्राधिकरण र निजी क्षेत्रका आयोजनाले समेत विद्युत् उत्पादनमा बढोत्तरी गरेका छन् । आन्तरिक उत्पादन क्रमशः बढेर ७ सय मेगावाटको हाराहारीमा पुग्ने अवस्थामा पुगेको छ ।

जेठको पहिलो साता बित्दा प्राधिकरणको प्रसारण प्रणालीमा थपिएको विद्युतका कारण भारतबाट आयात भइरहेको विद्युत्मा केही कटौती गर्न सकिने स्थिती देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका पिकिङ आयोजनामा समेत उत्पादन वृद्धि भएको जानकारी दिए ।

कालीगण्डकी, मध्यमस्र्याङदी जस्ता आयोजनाको विद्युत् उत्पादनको मात्रा बढेको छ ।

नियमित भइरहेको वर्षा तथा तापक्रम बढेर हिउँ पग्लिँदा नदीको बहाब बढेको छ । नेपालका अधिकाशं जलविद्युत् आयोजना नदीप्रवाही भएका कारण पनि पानी पर्नु पर्नुपर्ने वा हिँउ नै पग्लनुपर्ने अवस्था गुजार्नु परेको छ ।

प्राधिकरणका अनुसार १४४ मेगावाट क्षमताको कालीगण्डकी एले करिब ११० मेगावाट विद्युत् नियमित रुपमा उत्पादन गरिरहेको छ । विद्युत् उत्पादनको मात्रा क्रमशः बढिरहेको छ ।

यस्तै मस्र्याङदी र मध्यमस्र्याङदीले पनि क्रमशः ६५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

प्राधिकरणको प्रणालीमा हाल १ हजार २५० मेगावाटको हाराहारीमा विद्युत् माग रहेको छ ।

यस्तै प्राधिकरणले वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत लोडसेडिङको अन्त्य गरेको छ । साँझको समयमा माग व्यवस्थापन गर्न भने केही समस्या पर्ने गरेको भएपनि व्यवस्थापन गरिएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।

माग व्यवस्थापनका लागि कुलेखानी पहिलो र दोस्रो समेत दैनिक १० घण्टाको हाराहारीमा चलाइएको छ । पानीको सतह बढी रहेका कारण कुलेखानी चलाइएको प्राधिकरणको भनाइ छ ।


क्लिकमान्डु