सुधीर बस्नेतको ओरेन्टलले अर्बौं ठगेको दाबी गर्दै साढे ७ हजार उजुरी, रकम फिर्ता कहिले ?



तस्बीर स्रोतः नागरिक दैनिक

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले ठगी गरेको भन्दै ७ हजार ५ सय ५६ जनाले उजुरी गरेका छन् । उनीहरुले अर्बौं रकम ठगी गरेको प्रमाणसहित पूर्वन्यायधीस गौरीबहादुर कार्की संयोजकत्वको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उजुरी दिएका हुन् ।

समितिले ०७५ बैशाख २ गतेदेखि जेठ ६ गतेसम्म सुधीर बस्नेत अध्यक्ष रहेको ओरेन्टल सहकारीका बचतकर्ता र ओरेन्टल हाउजिङका खरिदकर्तालाई प्रमाणसहित दाबी गर्न आह्वान गरेको थियो ।

‘हामीले प्रमाणसहित दाबी गर्न आह्वान गरेका थियौं,’ समितिका अध्यक्ष गौरीबहादुर कार्कीले क्लिकमाण्डूसँग भने, ‘७ हजार ५ सय ५६ जनाले दाबी गर्दै निवेदन दिएका छन् ।’

समितिलाई ऐनले नै समस्याग्रस्त संस्थामा फसेको सर्वसाधारणको पैसा फिर्ता गर्ने जिम्मा दिएको छ । पीडितहरुलाई निवेदन हाल्नका लागि अपिल गरेर डुबेको रकम फिर्ता गर्ने प्रक्रिया गरिएको संयोजक कार्कीले जानकारी दिए ।

‘के कति रकमको दाबी परेको छ भनेर अहिले हामी निवेदनहरुको अध्ययन गरिरहेका छौं,’ उलले भने, ‘त्यसपछि सुधीर बस्नेतलगायत आरेन्टल सहकारी र ओरेन्टल अपार्टमेन्टका सञ्चालक तथा सिनियर कर्मचारीहरुको सम्पत्ति खोज्छौं । र, उक्त सम्पत्ति बिक्री गरेर पीडितको रकम फिर्ता दिन्छौं ।’

गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्यांकन गरेको थियो ।

सअघि सरकारले ०७० कात्तिक २७ गते कार्कीकै संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको उच्च स्तरीय आयोगको गठन गरेको थियो । आयोगले ०७१ जेठ ५ गते तत्कालीन प्रधानमन्त्री शुसील कोइरालालाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा बस्नेतले सहकारीको साढे ३ अर्ब रुपैयाँ र डेढ अर्ब रुपैयाँभन्दा बढी हाउजिङ तथा अपार्टमेन्टको ठगी गरेको उल्लेख छ । बस्नेत ठगी मुद्दामा जेल सजाय भोगिरहेका छन् ।

कार्की संयोजकत्वको आयोगमा १२ हजार बचतकर्ताले १ सय ३४ सहकारी संस्थाले ११ अर्ब रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उजुरी दिएका थिए । जसअनुसार ७ अर्ब ५८ करोड रुपैयाँ साँवा र २ अर्ब ३९ करोड रुपैयाँ व्याज फिर्ता नपाएको देखिएको छ ।

त्यसैगरी हाउजिङ बुकिङकर्ताले बुकिङ गरेको वर्षौ वित्दा पनि हाउजिङ नपाएको भन्दै १ अर्ब ३६ करोड रुपैयाँ दाबीसहित आयोगमा उजुरी दिएका थिए ।

अहिले नेपालमा रहेका ३३ हजार सहकारीमध्ये १३ हजार बचत तथा ऋणको कारोबार गर्छन् । आवश्यक अनुगमन नहुँदा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु संस्थाहरुमा अनेकौं विसंगति देखिएका छन् ।


पुष्प दुलाल