राष्ट्रपतिले सभामुखको अपमान गरेको भन्दै कांग्रेसलगायत १७ सांसदको कडा आपत्ति



काठमाडौं । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको उल्लेख गरिएको छ ।

संशोधन प्रस्तावमा सभामुख र अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरिएकोमा त्यसलाई संशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना, प्रचलित परम्परा अनुरुप सम्मानजनक पदावली प्रयोग गरिनुपर्दछ भनिएको छ ।

संघीय समाजवादी फोरम नेपालका सुरेन्द्रकुमार यादव, रेनुका गुरुङ, प्रदीप यादव र राम सहायप्रसाद यादवले राष्ट्रिय सहमतिको आधारमा संविधान सशोधन गरिने छ भन्ने बुँदा थप्न तथा लोकतन्त्रको रक्षा, सुदृढीकरण र सही प्रयोगमा अडिग रहने भन्नुको सट्टा संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वयत्तता र स्वशासन, समावेशी लोकतन्त्र र धर्म निरपेक्षताको रक्षा, सुदृढीकरण र सही प्रयोगमा यो सरकार अडिग रहने छ, भन्ने सशोधन गर्न माग गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसदद्वय अनिलकुमार झा र लक्ष्मणलाल कर्णले शहीदका परिवारको भरणपोषणको व्यवस्था गर्नु सरकारको दायित्व रहने भन्ने शब्द समावेश गर्न लगायतका विषयमा संशोधन प्रस्तुत गरेका छन् ।

विभिन्न राजनीतिक दलका २३ जना सांसदले १६ भन्दा बढी बुँदामा संशोधन हालेका छन् । राष्टपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरी सम्बोधन गरेकी थिइन् । रासस


पुष्प दुलाल