निजामति कर्मचारीका नेता भन्छन्ः कर्मचारीको तलब त बढाउनै पर्छ




काठमाडौं । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले निजामति कर्मचारीहरुको तलब बढाउनै पर्ने बताएका छन् ।

निजामति सेवा ऐनमा प्रत्येक २ बर्षमा कर्मचारीको तलब समायोजन गर्ने ब्यवस्था भएको र सरकारले सरकारी कर्मचारीको तलब नबढाएको २ बर्ष पुगेकोले बढाउनै पर्ने उनको भनाइ छ ।

‘निजामति सेवा ऐनमै प्रत्येक २ बर्षमा सरकारी कर्मचारीको तलब समायोजन गर्ने ब्यवस्था छ, यसरी तलब समायोजन नभएको २ बर्ष भइसक्यो, आगामी आर्थिक बर्षको बजेट मार्फत तलब बढाउनु पर्छ,’ उपाध्यक्ष पोखरेलले क्लिकमाण्डूसँग भने ।

सरकारी कर्मचारीको तलब भत्ता बढाउनको लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई आफूहरुले भेटेर अनुरोध गरिसकेको उनले जानकारी दिए ।

तत्कालिन नेकपा एमाले सरकारी कर्मचारीको पीडा र ब्यथा बुझ्ने पार्टी भएको र अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारी कर्मचारीको पीडा बारे जानकार रहेकोले तलब बढ्ने उनको अपेक्षा छ । यस्तै अर्थमन्त्री डा. युवराज खतिवडा पनि लामो समयसम्म सरकारी सेवामा रहेर पेन्सन खाने ब्यक्ति भएकोले आफूहरुको तलब बढाइ देलान भन्ने आश सरकारी कर्मचारीको छ ।

यसअघि ठूला राजनीतिक घटनाक्रमपछि सरकारी कर्मचारीको तलब बढ्ने गरेको भन्दै पोखरेलले अहिले देश संघीयतामा गएर संविधानको पूर्ण कार्यान्वयन भएको तथा तीनै तहको निर्वाचन भएर सबैतिर जनप्रतिनिधित्व भएकोले कर्मचारीको तलब बढाउनु पर्ने उनको जिकीर छ ।

‘२०४८ सालको आम निर्वाचन पछिको सरकारले कर्मचारीको तलब बढाएको थियो, त्यसयताका प्रमुख राजनीतिक घटनापछि पनि कर्मचारीको तलब बढ्ने गरेको छ, अहिलेको परिवर्तन पनि महत्वपूर्ण भएकोले कर्मचारीको तलब बढाउनु पर्ने अबस्था छ,’ उपाध्यक्ष पोखरेलले भने ।

तर, देशको आर्थिक अबस्था र सरकारले गर्नुपर्ने अरु महत्वपूर्ण काममा रकमको अभाव हुने भए यसको लागि सरकारी कर्मचारी बाधक नहुने उनको भनाइ छ ।

‘कानुन र विगतको अनुभब हेर्दा यो पटक कर्मचारीको तलब बढाउनै पर्नेछ, तर देशको आर्थिक अबस्था र अन्य महत्वपूर्ण काममा सरकारी लगानी नै नपुग्ने अबस्था छ भने यसमा निजामति कर्मचारी बाधक बन्दैनन्,’ उनले भने ।

प्रधानमन्त्री र अर्थमन्त्रीले सरकारी कर्मचारीको तलब अहिले बढाउन कठिन हुने संकेत दिइसकेका छन् ।

यसअघि तत्कालिन एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बनेका बेलामा सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढाइएको थियो ।

सरकारले आगामी आर्थिक बर्षको उसको नीति तथा कार्यक्रम आजै (सोमबार) ब्यवस्थापिका संसदमा पेश गरेको छ भने जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट ल्याउदैछ ।


क्लिकमान्डु