भ्याट लाग्ने हल्लाले घटायो सेयर बजार, अब साच्चै लाग्ने हो ?




काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गर्ने दिन पनि सेयर बजार घटेको छ । केही दिनयता लगातार घटिरहेको सेयर बजार मापक नेप्से परिसुचक सोमबार २ अंकले घटेको छ ।

सो दिन सेयर बजारमा कारोबार भने केही सुधार आएको छ । विगत केही दिनयता कारोबार रकममा उल्लेख्य कमी हुदै आएकोमा सोमबार ३५ करोड ५४ लाख रुपैयाँ बराबरका ८ लाख ७ हजार कित्ता सेयर खरिद विक्री भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

केही दिनदेखि सेयर कारोबारीले ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण नगरेका कारण सेयर बजारमा कम कारोबार भएको हल्ला गरिदै आएको थियो ।

तर सोमबार सेयर बजारमा एकाएक नयाँ हल्ला फैलिएको छ । त्यो नयाँ हल्ला सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसनमा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने भन्ने थियो ।

ब्रोकर कमिसनमा भ्याट असुल गर्न महालेखा परीक्षकको कार्यालयले विगतदेखि नै अर्थमन्त्रालयलाई निर्देशन दिदै आएको थियो । महालेखाको निर्देशनकै कारण कर कार्यालयले विगत केही ब्रोकरको कागजात नियन्त्रणमा लिएर भ्याट तिर्न पत्राचार पनि गरेको थियो ।

कर कार्यालयहरुले यसरी पत्राचार गरेपछि सेयर ब्रोकर आन्दोलित भएका थिए । सो समयमा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री थिए ।

तर, ब्रोकर सहित सेयर बजारसँग सम्बन्धित सरोकारवालाले तत्कालिन नेकपा एमालेका अध्यक्ष तथा सो समयका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेर सेयर कारोबारमा भ्याट लगाउन नहुने र सोही अनुसारको ब्यवस्था गरिदिन अनुरोध गरेका थिए ।

ओलीले सो समयमा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडालाई सो बिषय टुंग्याउन भनेका थिए । डा. खतिवडाले सेयर कारोबारको कमिसनमा भ्याट नलाग्ने भएकोले सोही अनुसार ब्यवस्था मिलाउन कर प्रशासनलाई आग्रह गरेका थिए । डा. खतिवडाकै पहलमा सो समयमा यो बिषय समाधान भएको थियो ।

तर, डा. खतिवडा अर्थमन्त्री भएपछि यो बिषयले त्यति चर्चा पाएको थिएन । उनले बजेट मार्फत समस्याको समाधान गरिदिने भन्दै सेयर बजारसँग सम्बन्धित सरोकारवालालाई फकाएका थिए ।

कर प्रशासनले भने ब्रोकरले अहिलेसम्मको भ्याट बक्यौता तिर्नु नपर्ने र आगामी आर्थिक बर्षदेखि भ्याट उठाउन दिने आश्वासन ब्रोकरलाई दिएको थियो । कर कार्यालयहरुले केही ब्रोकरलाई विगतको भ्याट तिर्न पत्राचार गरेको भए पनि ब्रोकरहरुले अहिलेसम्म भ्याट नउठाएको तिर्न समस्या हुने जिकिर गरेका थिए ।

अर्थमन्त्रालय स्रोतले भने अहिले अहिले ब्रोकर कमिसनमा भ्याट लगाउने बिषयमा कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दियो ।

‘यसबारेमा हिजोको ब्यवस्था जे थियो, त्यसमा हामीले थप छलफल वा नयाँ ब्यवस्था गरेकै छैनौं, करको नयाँ नीति र दरका बारेमा गृहकार्य चलिरहेकोले केही नयाँ ब्यवस्था पनि हुन सक्छ वा पुरानैलाई निरन्तरता दिने पनि हुन सक्छ,’ अर्थमन्त्रालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

स्रोतका अनुसार राजस्व सचिब शिशिर कुमार ढुंगाना सेयर कारोबारमा ब्रोकर कमिसनबाट भ्याट लिनुपर्ने पक्षमा छन् । अर्थसचिब डा. राजन खनाल पनि भ्याट लिनुपर्ने अडानमा छन् । अर्थमन्त्री डा. खतिवडा पनि अहिलेसम्मको बक्यौता भनिएको भ्याट मिनाहा गरेर अबदेखि भ्याट लागू गर्नुपर्न पक्षमा छन् । यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक बिष्णु नेपाल पनि भ्याट लिनुपर्ने पक्षमा छन् ।

तर, अहिलेसम्म यस बिषयमा कुनै टुंगोमा पुगिसकिएको अबस्था भने नरहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।


क्लिकमान्डु