ब्रोकरसँग ऋण लिएर सेयर किन्दा कति तिर्नुपर्छ ब्याज ?




काठमाडौं । धितोपत्र बोर्डले मार्जिन कारोबार कार्यविधि पारित गरेको छ । यो कार्यविधि पारित भएसँगै अब ब्रोकरबाटै ऋण लिएर सेयर किनबेच गर्न पाउने बाटो खुल्ला भएको छ ।

कार्यविधिमा ब्रोकरले आफ्नो नेटवर्थको १० गुणासम्म ऋण दिन पाउने ब्यवस्था गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ब्रोकरले आफूसँग भएको पुँजी तथा अन्य स्रोतबाट ऋण लिएर सेयर किन्ने ब्यक्तिलाई ऋण दिन दिन पाउने छन् ।

सेयर किन्ने ब्यक्तिलाई ऋण दिन ब्रोकरले नेप्सेसँग अनुमति लिनु पर्नेछ । नेप्सेले तोकेका कम्पनीहरुको सेयर किन्नको लागि ब्रोकरले लगानीकर्तालाई ऋण दिन पाउने छन् ।

‘क वर्गका कम्पनी र बर्षभरी अधिकांश समय कारोबार भएका कम्पनीको सेयर किन्न ऋण दिन पाइने ब्यवस्था गरिएको छ,’ प्रवक्ता पराजुलीले भने ।

ब्रोकरले आफ्नो पुँजीबाट वा अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर पनि सेयर किन्ने ब्यक्तिलाई ऋण दिन पाउने बाटो कार्यविधिले खुल्ला गरेको छ ।

यसरी ऋण दिदा ब्रोकरले ब्याज शिर्षकमा कुनै पनि रकम सेयर खरिदकर्तासँग लिन पाउने ब्यवस्था कार्यविधिमा छैन । यसको अर्थ ब्रोकरले सित्तैमा ऋण दिनुपर्छ भन्ने पनि होइन ।

‘मार्जिन कारोबार गर्ने बेलामा सेयर खरिदकर्ता र ब्रोकरको बीचमा सम्झौता हुन्छ, त्यस्तो सम्झौतमा ब्रोकरले ऋण दिए वापत ब्याज लिन पाउने ब्यवस्था छैन, तर ब्रोकरले सेवा शुल्क भने लिन पाउने छन्,’ पराजुलीले भने ।

यस्तो सेवा शुल्कको पनि सीमा तोकिएको छैन । सेयर खरिदकर्ता र ब्रोकरको बीचमा भएको सम्झौता अनुसार सेवा शुल्क लिन पाउने ब्यवस्था कार्यविधिले गरेको पराजुलीले जानकारी दिए ।

‘सेवा शुल्क हामीले तोकेका छैनौं, बजारले नै तय गर्ने हो, सेयर खरिदकर्ता र ब्रोकरको बीचमा हुने सम्झौताले यस्तो सेवा शुल्क तय गर्छ,’ उनको भनाइ छ ।

ब्रोकरले बढी सेवा शुल्क लिए सेयर खरिदकर्ताले अन्य विकल्प खोज्ने भएकोले सेवा शुल्कको सीमा नतोकिएको उनको भनाइ छ । बोर्डले कार्यविधि पारित गरिसकेकोले अब चाँढै नै मार्जिन कारोबार सुरु हुने उनको भनाइ छ ।


क्लिकमान्डु