केवाइसीको निहूँमा बजेट कुर्दै सेयर बजार




काठमाडौं । यो साताको मंगलबार र बुधवार सेयर कारोबार रकम उल्लेख्य रुपमा घटेको छ । मंगलबार १४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार २२ करोड २० लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भए ।

मंगलबार र बुधबारको सेयर कारोबार रकमका हिसाबले निकै न्यून हो । सामान्य अबस्थामा दैनिक ४० करोड रुपैयाँ र कुनै समय १ अर्ब रुपैयाँ बराबरको सेयर खरिद विक्री हुने गरेको थियो ।

यो साताको पहिलो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने पर्व परेकोले काठमाडौं उपत्यकामा सार्बजनिक विदा थियो । सार्बजनिक विदा परेको दिन सेयर कारोबार पनि बन्द हुने गर्छ ।

सोमवार भने कारोबार रकम करिब स्वभाविक नै थियो । सो दिन ४२ करोड रुपैयाँ बरावरका सेयर खरिद विक्री भएका थिए ।

मंगलबारदेखि सेयर कारोबारीले अनिवार्य रुपमा ग्रहक पहिचान विवरण (केवाइसी) चाहिने ब्यवस्था थियो । सो दिनदेखि केवाइसी फर्म भरेका लगानीकर्ताले मात्रै सेयर किनबेच गर्न पाउने भनेर पुँजी बजारको नियामक धितोपत्र बोर्डले करिब ३ महिना अगाडि नै परिपत्र गरिसकेको थियो ।

बोर्डले केवाइसी अनिवार्य अचानक गरेको होइन । यो कुरा ब्रोकरदेखि सेयर लगानीकर्तासम्मलाई थाहा थियो । अहिले नेपाली सेयर बजारमा दैनिक करिब २५ सय लगानीकर्ताले सेयर खरिद विक्री गर्ने गरेको अनुमान गरिन्छ ।

‘नियमित रुपमा सेयर खरिद विक्री गर्नेहरुले पहिला नै केवाइसी अपडेट गरिसकेका थिए, आक्कलझुक्कल सेयर खरिद विक्री गर्नेहरुले मात्रै अपडेट गर्न बाँकी हो, केवाइसी अपडेटकै कारण बजार प्रभावित भएको जस्तो मलाई लाग्दैन,’ एक ब्रोकरले क्लिकमाण्डूसँग भने ।

उनले केवाइसी अपडेटका कारण सेयर बजार प्रभावित भएको भन्नु सही नभएको बताए ।

पहिला नै केवाइसी अपडेट नगरेका ग्राहकलाई पनि सेयर खरिद विक्रीमा यस्तो ब्यवस्थाले कुनै ब्यवधान नगरेको सेयर ब्रोकरहरु बताउँछन् । सेयर खरिद विक्री गर्न चाहने ब्यक्ति वा संस्थाहरुले ब्रोकर मार्फत मात्रै कारोबार गर्न पाउँछन् ।

‘कसैले केवाइसी अपडेट गरेको छैन र उसले सेयर खरिद वा विक्री गर्न चाह्यो भने एक मिनेटमै अपेड गरेर कारोबार गराउन सकिन्छ, त्यसैले अहिले कम कारोबार हुनु केवाइसी अपडेटसँग कुनै सम्बन्ध भएको बिषय नै होइन,’ अर्का एक ब्रोकरले भने । धितोपत्र बोर्डले सेयर ब्रोकरलाई बजारबारे नबोल्न निर्देशन दिएकोले उनीहरु नाम उल्लेख गर्न चाहिरहेका छैनन् ।

त्यसो भए अहिले कारोबार रकममा एक्कासी किन उल्लेख्य कमी आयो त भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ ।

‘मैले पहिला नै केवाइसी अपडेट गरिसकेको छु, अहिले जुन मूल्य पाइरहेको छु, त्यसमा म सेयर बेच्न तयार छैन, सरकारको तर्फबाट कहिले पुँजी बजारप्रति धेरै सकारात्मक र कहिले धेरै नकारात्मक अभिब्यक्ति आइरहेका छन्, यस्तो अबस्थामा म थप सेयर किन्न पनि तयार छैन,’ एक ठूला सेयर लगानीकर्ताले क्लिकमाण्डूसँग भने ।

सेयर लगानीकर्ताहरु अहिले सरकारको नीति तथा कार्यक्रम र खासगरी बजेटको प्रतिक्षामा रहेको देखिएको छ ।


क्लिकमान्डु