नेपालका १० ठाउँमा सिग्नेचर पुल, डिजाइन बनाउने जिम्मा १८ लाखमा चिनियाँ चेनलाई




काठमाडौं । शहर नजिकको राजमार्गमा सिग्नेचर (आकर्षक डिजाइनको) पुल बन्ने भएको छ । सडक विभाग पुल महाशाखाले ट्राफिक चाप र साँधुरो पुल भएको १० शहरी क्षेत्रमा सिग्नेचर पुल बनाउन खोजेको हो ।

पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले विश्व बैंकसँगको ऋण सहयोगमा १० स्थानमा सिग्नेचर पुल बनाउन लागिएको जानकारी दिए ।

‘मोटरेबल पुलभन्दा सिग्नेचर पुल २÷४ प्रतिशत महँगो हुन्छ, महँगो भए पनि मोटरेबल पुलको तुलनामा टिकाउ र आकर्षक हुने भएकोले सिग्नेचर पुल नै बनाउन लागेका हौं,’ उपमहानिर्देशक थापाले क्लिकमाण्डूसँग भने ।

महाशाखाले १० स्थानमा सिग्नेचर पुल बनाउनका लागि आगामी जुलाईमा विश्व बैंकसँग ऋण सम्झौता गर्ने कार्यक्रम छ । यस अघि विश्व बैंकसँग भएको ऋण सम्झौता अनुसार ब्याज दर १ प्रतिशतभन्दा धेरै नहुने महाशाखाको भनाई छ ।

महाशाखाले चितवनको नारायणी नदी, बुटवलको तिनाउ नदी, रौतहटको बागमती नदी, काठमाडौंको टेकू खोला लगायत धनुषाको ढल्केबरदेखि बाराको पथलैयाका खोला किनारमा सिग्नेचर पुल बनाउन लागेको हो ।

सिग्नेचर पुल नेपालका लागि नयाँ प्रविधि हो । यस प्रकारको पुल नेपालमा बनेका छैनन् । महाशाखाले पुलको कन्सेप्चुअल डिजाइन बनाउनका लागि चीनका प्रोफेसर डा. डिउई चेनलाई परामर्शदाताको रुपमा नियुक्त गरेको छ । चेनले सडक विभागका कर्मचारीलाई सिग्नेचर पुलको अवधारणागत नमुना (कन्सेप्चुअल डिजाइन) बारेमा परामर्श दिनेछन् । उनले पारिश्रमिक बापत १८ हजार अमेरिकी डलर अर्थात १८ लाख रुपैयाँ लिनेछन् ।

अन्य देशमा सिग्नेचर पुलको कन्सेप्चुअल डिजाइन बारेमा परामर्श दिँदा उनले ६८ हजार अमेरिकी डलर भन्दा धेरै लिने गरेको महाशाखाले जानकारी दिएको छ । नेपालका लागि उनले सहुलियत दरमा परामर्श दिने भएका हुन् ।

उनी २०७४ चैतमा पुलको कन्सेप्चुअल डिजाइनको परामर्श दिन नेपाल आएका थिए । त्यस समय उनले कुनै शुल्क लिएका थिएनन् । महाशाखाले उनलाई आवश्यकता अनुसार परामर्शका लागि नेपाल बोलाउने छ । उनले ८ महिनाको अवधिमा नेपाल आएको समयमा विभागका कर्मचारीलाई पुलको डिजाइन बारेमा परामर्श दिनेछन् ।

पुलका कारण खोला क्षेत्र सफा हुने
सिग्नेचर पुल निर्माण भएको क्षेत्र सुन्दर र सफा हुने महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिए ।

‘बंगलादेशको सुकुम्बसी क्षेत्रमा ४/५ वटा सिग्नेचर पुल बनाइएको थियो, पुल बन्नु अघि निकै दुरगन्धित हुने क्षेत्र अहिले सफा र स्वच्छ भएको छ,’ शाक्यले भने ।

सिग्नेचर पुल आकर्षक हुनका साथै पैदल यात्रुका लागि प्रयाप्त ठाउँ हुनेछ । आकर्षक डिजाइनका कारण पुल हेर्न तथा घुम्नका लागि मानिसको घुइँचो लाग्नेछ । साँझ विहान मानिसहरु घुम्न आउने भएकाले त्यहाँ फोहोर गर्ने वातावरण रहदैन । यसका साथै त्यस क्षेत्रमा पर्यटकहरुको आगमनमा वृद्धि हुने महाशाखाको अपेक्षा छ ।

पुल कस्तो हुन्छ ?
नेपालका परम्परागत पुलहरु २ लेनका छन् । बढ्दो शहरीकरणका क्षेत्रमा ट्राफिक चाप बढी हुने हुँदा ४ लेनको सिग्नेचर पुल बनाउन लागिएको सीडीइ शाक्यले बताए ।

पुलको चौडाइ करिब १९ मिटरको हुनेछ । एक लेन सडकको चौडाइ साढे ३ मिटरको हुन्छ । दायाँ र बायाँबाट आउने गाडीलाई दुर्घटनाबाट बचाउनका लागि १ मिटरको डिभाइडर राखिने छ । साथै, पैदल हिड्नेका लागि दायाँ र बायाँ २/२ मिटरको फुटपाथ छोडिने छ । पुललाई आकर्षक देखाउनका पुलको डण्डीमा कलात्मक डिजाइन दिइने छ ।


क्लिकमान्डु