५ स्थानमा सुरुङमार्ग बनाउन सरकारले तयारी थाल्यो




काठमाडौं । सरकारले नेपालमा विभिन्न ५ स्थानमा सुरुङमार्ग बनाउनका अध्ययन शुरु गरेको छ । सडक विभाग अन्तरगतको सम्भावर महाशाखाले सुरुङमार्ग बनाउनका लागि पूर्वसम्भाव्यता अध्ययन शुरु गरेको हो ।

सम्भार महाशाखाका उपनिर्देशक शिव नेपालले ५ स्थानमा सुरुङमार्ग बनाउनका लागि पूर्व सम्भाव्यता अध्ययन शुरु गरिसकिएको जानकारी दिए ।

‘विभिन्न ५ स्थानमा सुरुङमार्ग बनाउनका लागि पूर्वसम्भाव्यता अध्ययन अगाडि बढाइएको छ, सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि ठेक्का लागि सकेको छ,’ उपनिर्देशक नेपालले क्लिकमाण्डूसँग भने ।

सुरुङमार्गका लागि विभागले कुलेखानी–हेटौंडा सडक खण्डमा कुलेखानी–भीमफेदी ४ किलोमिटर र काभ्रेको बनेपा–सिन्धुली सडक खण्डमा खुर्कोट–सिन्धुलीबजार ९ किलोमिटर सडक खण्डमा अध्ययनको काम गरिरहेको छ । यस्तै पोखरा–बाग्लुङ सडक खण्डमा हेम्जा–नयाँ पुल ५ किलोमिटर, दोलखाको सिंगटी–लामाबगर सडक खण्डमा लामा बगर–लाप्चा गाउँ १ किलोमिटर र नवलपरासीको दाउन्नेमा ५ किलोमटिर सुरुङमार्ग निर्माण गर्न पूर्वसम्भाव्यता अध्यननको काम भइरहेको छ ।

विभागले अहिले नै सुरुङमार्ग बनाउनका लागि भन्दा पनि भविष्यका लागि सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन अगाडि बढाएको हो । सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि विभागले गत पूसमै परमर्शता कम्पनी नियुक्तगरी काम अगाडि बढाइसकेको छ । परमर्शदाता कम्पनीले असार मसान्तसम्म पूवसम्भाव्यता अध्ययनको रिर्पोट विभागलाई बुझाउने छ ।

परमर्शदाताले बुझाएको रिर्पोट र सुरुङमार्गको आवश्यकतालाई ध्यानमा राखेर सम्भाव्यता अध्ययन अगाडि बढाउन सकिने नेपालले बताए ।

‘अहिले हामीले सुरुङमार्ग बनाउनका लागि आवश्यक ज्ञान हासिल गर्नका लागि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाएका हौं, भोलिका दिनमा यही अध्ययनका आधारमा नेपाल सरकार वा विदेशी निकायसँग सुरुङमार्ग बनाउनका लागि प्रस्ताव गर्ने छौं,’ नेपालले भने ।

सुरुङमार्ग बनाउन इच्छा देखाउने कुनै पनि निकायका लागि पूर्वसम्भाव्यता अध्ययन महत्वपूर्ण हुनेछ । अध्ययन रिर्पोटको आधारमा सुरुङमार्ग बनाउन इच्छा देखाउने निकायको आयोजना बारेमा पूर्व अनुमान लगाउन सक्नेछन् । साथै सुरुङमार्गको डीपीआर बनाउनका लागि पूर्वसम्भाव्यता अध्ययनको रिर्पोटले सहयोगी भूमिका निर्वाह गर्नेछ ।


क्लिकमान्डु