प्रधानमन्त्री ओली र मन्त्रीहरुले किन सार्वजानिक गरेनन् सम्पत्ति विवरण ?



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुले मन्त्रिपरिषद गठन भएको २ महिनाभित्र आफ्नो सम्पत्ति सार्वजानिक गर्नुपर्ने सुशासन ऐनमा प्रावधान छ । तर, गठन भएको ३ महिना बित्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजानिक गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रिपरिषदले निर्णय नगरेका कारण प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण प्राप्त भएपनि सार्वजनिक गर्ने आदेश नआएका कारण सार्वजनिक गर्न नसकिएको सो कार्यालयले जनाएको छ ।

‘निर्णय गरेर सार्वजनिक गरौला भन्ने प्रधानमन्त्रीले आदेश दिनु भएको छ, त्यसकारण प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

सम्वद्ध स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरिरहेका छन् । प्रधानमन्त्री र मन्त्रीहरु दैनिक आधा दर्जन बढी सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पछिल्लो एक सातामा मन्त्रिपरिषद्को नियमित बैठक समेत बस्न सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रिपरिषद्को बैठक बसेपछि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने जानकारी दिए ।

सुशासन ऐन अनुसार कुनै पनि सार्वजनिक पदमा बहाल भएको ६० दिन भित्र र पदबाट बाहिरिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

क्लिमाण्डुले प्रधानमन्त्रीले नै सम्पत्ति विवरण सार्वजनिक नगरेर सुशासन ऐनको बर्खीलाप गरेको समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री कार्यालयले निर्णय गरेर सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारीमा कार्यालय रहेको जनाएको हो ।


पुष्प दुलाल