स्टाण्डर्ड चार्टड र एनमएबि अर्बपति,बिओके स्थिर तथा जनताको ५० प्रतिशत नाफा बढ्यो



काठमाडौं । चारवटा वाणिज्य बैंकले आज एकैपटक चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमा स्टाण्डर्ड चार्टड र एनएमबि बैंकको नाफा १ अर्बभन्दा बढी छ भने बैंक अफ काठमाण्डु(बिओके)को नाफा बृद्धिदर करिब स्थिर छ । जनता बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ ।

सबैभन्दा पहिला स्टाण्डर्ड चार्टडको अपरिस्कृत वित्तीय विवरण हेरौ ।
स्टाण्डर्ड चार्टड बैंकले चैत मसान्तसम्ममा १ अर्ब ५० करोड नाफा गरेको छ ।

अघिल्लो वर्ष चैत मसान्तमा बैंकको नाफा १ अर्ब थियो । बैंकले आफ्नो नाफा ५० प्रतिशत बढाउन सफल भएको हो । ८ अर्ब पुँजी रहेको बैंकमा रिजर्बमा ५ अर्ब ३६ करोड छ ।

बैंकको ६१ अर्ब रुपैयाँ निक्षेप छ भने कर्जा ४६ अर्ब रुपैयाँ छ । बैंकले ब्याज आम्दानीबाट २ अर्ब २३ करोड कमाएको छ,विदेशी मुद्राको कारोबारबाट ५१ करोड,कमिसनबाट ४९ करोड र अन्य आम्दानी ८ करोड गरेको छ । कर्मचारीको लागि ४६ करोड खर्च गरेको बैंकले अन्य खर्च ४१ करोड गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । कर्जा निक्षेप अनुपात ७६.४४ प्रतिशत छ । अन्यलाईभन्दा तरलता चार्टडलाई सहज भएको देखिन्छ । अरुको भन्दा यसको कर्जाको आधारदरपनि कम छ । अघिल्लो वर्षभन्दा बढेपनि अहिले यसको आधार दर ७.२० प्रतिशत रहेको छ ।

एनमएबि बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४१ करोड रुपैयाँ कमाएको छ । बैंकको अघिल्लो वर्षको चैत मसान्तमा १ अर्ब १४ करोड नाफा थियो । बैंकले २३ प्रतिशत नाफा बढाउन सफल भएको हो । ६ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्बमा ५ अर्ब ६३ करोड छ ।

८५ अर्ब २९ करोड निक्षेप छ भने ७४ अर्ब रुपैयाँ ऋण दिएको छ । बैंकले ब्याज आम्दानीबाट २ अर्ब १० करोड कमाएको छ । कमिसनबाट ३२ करोड,अन्य आम्दानी ३१ करोड र विदेशी मुद्रा २१ करोड कमाएको छ । कर्मचारीको तलबमा ५७ करोड र अन्य खर्च ५३ करोड रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २९ छ । बैंकको कर्जा निक्षेप अनुपात ७५.३३ प्रतिशत छ । यसले बैंकमा तरलता अवस्था भने सहजै भएको देखिन्छ । कर्जाको आधार दर १०.९२ प्रतिशत छ ।

बैंक अफ काठमाण्डुले चैत मसान्तसम्ममा ९३ करोड कमाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा नाफा ८८ करोड थियो । बैंकको नाफा जम्मा ५ प्रतिशतले बढेको छ । बैैंकको नाफामा बृद्धि सोचे अनुसार बढेको छैन ।

बैंकको निक्षेप ७३ अर्ब छ । जबकी अघिल्लो वर्षको चैत मसान्तमा ७३ अर्ब थियो । तरलता अभावले र तीव्र प्रतिस्पर्धामा बैंकले निक्षेप बढाउन नसकेको देखिन्छ ।

बैंकले २ अर्ब ब्याज आम्दानी गरेको छ । २४ करोड कमिसनबाट,अन्यबाट ९ करोड ९९ लाख र विदेशी मुद्राको कारोबारबाट १८ करोड कमाएको छ । अघिल्लो वर्षको चैतमा पनि यस्तो आम्दानी करिब उस्तै थियो । बैंकको इपिएस १७.५४ छ भने कर्जा निक्षेप अनुपात ७७.२४ प्रतिशत छ । बेसरेट १०.७८ प्रतिशत छ । ७ अर्ब अर्ब चुक्ता पुँजी रहेको बिओकेले ४ अर्ब ४३ करोड रुपैयाँ रिजर्बमा छ ।

जनता बैंकले चैत मसान्तसम्ममा ५७ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा बैंकको नाफा ३८ करोड १८ लाख थियो । बैंकले ५० प्रतिशतले नाफा बढाएको हो ।

८ अर्ब चुक्ता पुँजी रहेको जनताको रिजर्बमा १ अर्ब ३७ करोड छ । बैंकसँग चैत मसान्तसम्ममा ५४ अर्ब छ भने कर्जा ५१ अर्ब छ ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ५७ करोड कमाएको छ । कमिसनबाट ८ करोड,अन्य आम्दानी १८ करोड र विदेशी मुद्राको कारोबारबाट ७ करोड कमाएको छ ।

कर्मचारी खर्च ४८ करोड छ भने अन्य खर्च ३९ करोड रहेको छ । इपिएस ९.५९ छ भने बेसरेट ११.६६ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७९.०८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु