बीरगञ्ज-काठमाडौं १ घन्टामै जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छानियो



काठमाडौं । काठमाडौं-विरगञ्ज विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनोट भएको छ ।

रेल विभागले काठमाडौं–विरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि माग गरेको एक्सप्रेसन अफ इन्ट्रेस (इओआई) बाट सोसुङ इन्जिनियरिङ कम्पनी, योङगा इन्जिनियरिङ कन्सल्टेन्ट एण्ड कोरिया इन्जिनियरिङ कन्सल्टेन्ट कप्र्स, विक्रेट इन्टरनेसनल एण्ड मेटरियल टेष्ट प्राली छनोट भएको हो ।

रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेका इओआईमा ६ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

६ वटा कम्पनीमध्येमा विभागको मूल्याङकन समितिबाट प्राविधिक तथा आर्थिक क्षमतामा सोसुङ इन्जिनियरिङ कम्पनी, योङगा इन्जिनियरिङ कन्सल्टेन्ट एण्ड कोरिया इन्जिनियरिङ कन्सल्टेन्ट कप्र्स, विक्रेट इन्टरनेसनल एण्ड मेटरियल टेष्ट प्राली उत्कृष्ट ठहरिएको रेल विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्ययले जानकारी दिए ।

‘सम्भाव्यता अध्ययनका लागि छनोट भएको कम्पनीसँग विभाग आन्तरिक छलफलमा छ, छलफल सकिएसँगै कम्पनीलाई रिक्वेट फर प्रपोजल (आरएफपी) पठाइने छ,’ उपाध्ययले क्लिकमाण्डूसँग भने ।

सोसुङ इन्जिनियरिङ कम्पनी, योङगा इन्जिनियरिङ कन्सल्टेन्ट एण्ड कोरिया इन्जिनियरिङ कन्सल्टेन्ट कप्र्स, विक्रेट इन्टरनेसनल एण्ड मेटरियल टेष्ट प्राली छनोट भए पनि उनीहरुले नै सम्भाव्यता अध्ययन गर्ने भन्ने विषय टुङगोमा पुगिनसकेको उपाध्यय बताउँछन् ।

विभागले पठाएको आरएफपीको आधारमा कम्पनीले सम्भाव्यता अध्ययनको प्रपोजल पठाउनेछन् । त्यही प्रपोजलको आधारमा विभाग र कम्पनी बीच सम्भाव्यता अध्ययनका लागि सम्झौता हुनेछ ।

विभागका अनुसार काठमाडौं–विरजंगको रेलमार्गको दुरी १ सय १३ किलोमिटरको हुनेछ । काठमाडौं–विरगञ्ज गुड्ने रेलको अधिकतम गति २ सय किलोमिटर प्रति घण्टा छ । सो रेलमार्ग संचालनमा आएसँगै मुलुकको प्रमुख भन्सार नाका विरगञ्ज र काठमाडौंको सडक यात्रा १ घण्टाभन्दा कम समयको हुनेछ ।


पुष्प दुलाल