नेपालले आयोजना छनोट गरिदिए, उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने




काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि बंङगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।

राजदूत साम्ससंगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङगलादेशसंग नेपाल सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए । मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको समेत बताएका थिए ।

भेटमा राजदूत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न वङगलादेश तयार रहेको भन्दै त्यसका लागि नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताए ।

‘सरकार मात्र होईन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्यूतमा लगानी गर्न तयार छ, तर तपाईहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ ।’ भेटमा राजदूत साम्सले भने ।

जवाफमा मन्त्री पुनले ठुला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी वङगलादेशी उर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव समेत राखे ।

साम्सले वङगलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि वंङगलादेशी उर्जामन्त्री नेपाल भ्रमणमा आउन इच्छुक रहेको समेत बताए । मन्त्री पुनले वङगलादेशी उर्जामन्त्रीलाई छिटोभन्दा छिटो नेपाल भ्रमणमा आमन्त्रण गर्ने जानकारी दिए ।

वङगलादेशी राजदूतले सन् २०२१ सम्म वङगलादेशलाई १३ हजार मेगावाट विजुली आवश्यक रहेको भन्दै नेपालको लागी वङगलादेश वैकल्पिक बजार हुन सक्ने सम्भावना रहेको बताए । उनले पावर सेक्टरमा नेपाल भारत र वङगलादेशको बीचमा सहकार्य हुनुपर्नेमा जोड दिए ।

‘उर्जा क्षेत्रमा तपाईहरु सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागी आग्रह गर्छौ, हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसंग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमती भएको छ,’ राजदूत साम्सले भने ।


क्लिकमान्डु