नयाँ वर्षमा सेयर लगानीकर्तालाई १० टिप्स



अर्थतन्त्रको गतिसँगै पुँजी बजारका अंकहरु चलायमान भइरहेको हालको अवस्थामा फगत कसैको लहडमा आफ्नो पुँजीको लगानी गर्नु उपयुक्त नहोला । यो वा त्यो बहाना, हल्ला र अफबाहको भरमा पुँजी बजारले आफ्नो मार्ग तत्कालका लागि परिवर्तन गर्ला ।

तर, त्यो अस्थायी हुन्छ । तसर्थ अल्पकालीन लोभको प्रलोभनमा लगानी गर्नु निकै जोखिमपूर्ण हुन्छ । यस्ता हल्लाहरुमा लगानीकर्ताको संवेदनशीलता जोडिएको हुन्छ । जुन क्षणिक हुन्छ । लगानीकर्ताको मनोविज्ञानमा कारोबार गर्नु पुँजी बजारमा सामान्य विषय हो । तर, यसको लागि लगानीकर्ताहरु जुनसुकै मूल्य चुकाउन तयार रहनुपर्छ ।

वर्तमान अवस्थाको कुरा गर्दा हाम्रो अर्थतन्त्र सुधारोन्मूख छ भन्दा अन्यथा नहोला । नयाँ पुँजी निर्माणका कार्यहरुसँगै रोजगारीका अवसरहरु सिर्जना हुनेमा दुइमत छैन । स्थायी सरकारसँग अर्थतन्त्रले धेरै ठूलो अपेक्षा गरेको छ । यस अर्थमा पनि आगामी दिन पुँजी बजारका धेरै पक्षहरुमा सुधार आउने संकेतको आंकलन गर्न सकिन्छ । यस्तो अवस्था कायम रहे सेयर बजारका अंकहरु लगानीकर्ताको मनोभावना अनुकुल हुन्छ भन्ने कुरमा सन्देह गर्नु आवश्यक छैन ।

२०७५ सालको शुभकामना सँगै मैले सँधै लेख्ने र भन्ने गरेका केही बुँदाहरु यहाँहरुलाई बिमर्श गर्न, मनन गर्न, छाडिदिएको छु । ०७५ सालमा लगानीकर्तामा थप धैर्यता र परिपक्क हुन भने आवश्यक छ । नयाँ वर्षमा लगानीकर्ताले केही कुरालाई ध्यान पुर्याएर वितेको वर्षजस्तै राम्रो गर्न सक्छन् ।

१, कारोबार गर्दा लगानीकर्ताले कुनैपनि सेयरमा पूर्वाग्रह राख्नु हुँदैन । आम लगानीकर्ता बढ्दो क्रमको सेयर वा आफूले केही समय पहिला बिक्री गरेको सेयरलाई कमजोर प्रमाणित गर्न सँधै लागि परेका हुन्छन् । बढ्दो मूल्यको सेयर भने किन्नलाई लालायित हुने आम मनोविज्ञान हुन्छ । लगानीकर्ताले कुनै निश्चित सेयरसँग पूर्वाग्रह राख्न छाडे पुाजी बजारको भविष्य त उज्ज्वल हुन्छ नै । लगानीकर्ताले निराश हुने दिन पनि आउँदैन ।

२, लगानीकर्ताले आफ्नो कारोबार सँधै योजनाबद्ध रुपमा गर्ने बानी बसाल्नु पर्छ । आम कारोबारीहरु यति र उति फाइदा वा नोक्सान भनेर हिसाब राख्छन् । लगानीकर्ताले पहिले नाफा र घाटाको हिसाब भन्दा आफूले गरेको लगानी योजनाबद्ध छ कि छैन भनेर हिसाब राख्दा ०७५ साल अझ बढी फलिफापहुन्छ ।

३, आफ्नो जोखिम बहन क्षमता अनुरुपको कारोबार गर्न उत्तम हुन्छ । बजार यति बढ्छ र उति घट्छ भन्ने कुरा गौंण हुन् । आफू बजारबाट हुनसक्ने नोक्सान कतिसम्म बहन गर्न सक्छु वा कतिसम्म नाफा खाने भनेर क्षमता अनुसार कारोबार गर्ने बानी बसाल्दा निराश हुनुपर्ने दिन आउँदैन ।

४, सेयर खरिद गर्नुभन्दा पहिले जोखिम तथा फाइदाको प्रतिशत हेरेर मात्र लगानी गर्ने बानी बसाल्नु पर्छ । किन्नुभन्दा पहिले कम्पनीका बारेमा अधिकतम विश्लेषण गर्नुपर्छ । आम लगानीकर्ताहरु सेयर किनेपछि त्यसको नालीबेली केलाउन थाल्छन् जुन अन्तत गलत हो ।

५, समय गयो, किन्न पाइँन भनेर नपछुताउनुहोस्, सेयर किन्ने बेला फेरि पनि आउँछ । जसरी बेच्ने बेला आउँछ ।

६, सेयर बजारमा चक्र अनि बजार प्रवृत्तिको धेरै ठूलो हात हुन्छ । बजारको प्रवृत्ति अनुसार खरिदबिक्री गर्नुपर्छ । बजार प्रवृत्तिलाई नै चुनौति दिन्छु भन्ने मनसायले गरिने कारोबार हानिकारक हुन्छ ।

७, व्यक्तिगत अनुमानको सेयर बजारमा कुनै अर्थ रहँदैन । आज फलानो सेयर बढ्छ भन्ने लागिरहेको छ, त्यसकारण किन्ने जस्ता कुराहरुको अर्थ हुँदैन । यस्ता प्रवृत्तिबाट होसियार रहनुपर्छ ।

८, पुँजी बजारको कारोबारमा धैर्यताको ठूलो भूमिका हुन्छ । त्यसकारण आफ्नो योजनाअनुरुप बजार आएन भन्दैमा चाँडै धर्यता गुमाएर कारोबार गर्न छाड्नु हुन्न । बजारलाई उसको चक्रमा छाडिदिनु पर्छ । यदि तपाईलाई आफ्नो विश्लेषण ठीक छ जस्तो लाग्छ र बजारले आफ्नो गति परिवर्तन गर्छ तर त्यो स्थायी हुँदैन । बजार पुन आफ्नै लयमा फर्किन्छ ।

९, सेयर बजारमा ज्योतिस शास्त्र चल्दैन । र, बजार कता जान्छ भनेर पत्ता लगाउने कुनै सफ्टवेर पनि छैन । त्यसकारण अरुले भनेको आधारमा कारोबार नगरौैं । आफ्नो विवेकको प्रयोग गर्दा नोक्सानीबाट जोगिन सकिन्छ ।

१०, सेयर मूल्यको आधारमा कारोबार गर्ने बानी गलत हो । आम लगानीकर्ताहरु सेयर मूल्यको आधारमा लगानी गर्छन् । सेयर मूल्य कुनै आधार नै होइन । सामान्य अंकगणितको सिद्धान्तमा कहिल्यै सेयर नकिनौं ।

र, अन्त्यमा नियामक निकायलाई सेयर बजार अर्थतन्त्रको ऐना तर नेपालमा त्यो ऐनाले काम गरेको छ, छैन भन्न अत्यन्तै कठिन छ ।

सेयर कारोबारीलाई चाहिने अर्थतन्त्रको आधारभूत जानकारी उपभोक्ता मूल्य सूचकांक, रोजगारी दर, नगद प्रवाहको स्थिति, बिलासी बस्तुको बिक्रीका बारेमा नियमित जानकारी नियमनकारी निकायले पनि दिनुपर्छ । यसको साथै लगानीमैत्री ट्रेडिङ गर्न पाउने व्यवस्था चाँडै होस ।

पुडाशैनी सेयर बजारका जानकार हुन् ।


पुष्प दुलाल