लिखु गाउँपालिका अध्यक्षमाथि मध्यराती आक्रमण




काठमाडौं । ओखलढुंगाको लिखु गाउपालिका अध्यक्ष गोविन्द पौडेलमाथि गए राती भौतिक आक्रमण भएको छ । राती सबा १० बजे उनको क्वाटरमै आक्रमण भएको हो ।

आक्रमणबाट शरिरका विभिन्न भागमा चोट लागेको अध्यक्ष पौडेलले बताए । आक्रमणबाट घाइते भएका अध्यक्ष पौडेलको प्राथमिक उपचार गरिएको र थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

यसरी भयो आक्रमण, उनकै शब्दमा
लिखु गाउँपालिकाको कार्यालय यसममा छ । मेरो क्वाटर पनि त्यही छ । राती १० बजेतिर म सुत्न लागेको थिएँ । अंकल ढोका खोलिदिनु पर्यो, भेट्न आएको भने ।

अनि मैले कहाँबाट आएको भनेँ । उनीहरुले लिखु गाउँपालिका वडा नम्बर ९ पोकलीबाट आएको जरुरी काम पर्यो भने । अनि मैले ढोका खोल्ने वित्तिकै भटाभट हिर्काउन लागे ।

उनीहरुले हातमा मुंग्रा लिएका आएका रहेछन् । मैले ढोका खोल्ने वित्तिकै त्यसैले हान्न लागे । उनीहरु ३/४ जनाको समुहमा आएका थिए । उनीहरुले आक्रमण गर्न थालेपछि मैले एउटा मुंग्रो खोसेँ पनि ।

उनीहरुको प्रहारबाट मेरो घुडामा चोट लागेको छ । गोडामा ५ ठाँउमा चोट लागेको छ । घुडामा टाका लगाएको छ ।

अहिले म क्वाटरमै छु । साथीहरु जम्मा हुनुभएको छ । हाम्रो गाउँपालिकाको गाडी सदरमुकाम ओखलढुंगा भएको छ । त्यो गाडीलाई छिट्टै ल्याउनु भनेका छौं । गाडी आउने वित्तिकै थप उपचारको लागि काठमाडौं जान्छु ।

आक्रमणकारी भागेका छन् । कसले आक्रमण गर्यो भन्ने थाहा भएको छैन ।
(लिखु गाउँपालिका अध्यक्ष पौडेलले क्लिकमाण्डूसँगको कुराकानीमा बताए अनुसार)


क्लिकमान्डु