तयारी बिना शिलान्याशको हल्ला गरिएको अरुण तेस्रोमा भारतीय बैंकको ८० अर्ब ऋण




काठमाडौं । तयारी नै नगरी शिलान्याशको हल्ला गरिएको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि भारतको स्टेट बैंक अफ इन्डियाले ८० अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार आयोजना निर्माण प्रक्रियालाई गति दिन उक्त परिमाणको रकम उपलब्ध गराउन लागिएको हो ।

अरुण तेस्रो जलविद्युत् आयोजना भारतको सरकारी कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको हो ।

आयोजना निर्माणका लागि सतजल विद्युत् निगमले नेपालमा एसजेभीएन पावर लिमिटेड नामक कम्पनी दर्ता गरेको छ ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा संयुक्त रुपमा शिलान्याश गर्ने भन्दै हल्ला गरिएको थियो ।

तर पछि तयारी पूरा नभएको भन्दै शिलान्याश कार्यक्रम तत्कालका लागि स्थगित समेत भएको थियो ।

पछिल्लो तयारी अनुसार सो आयोजनाको शिलान्याश भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा गरिनेछ ।

निटक भविस्यमा नै नेपाल भ्रमणमा आउने नेपालका प्रधानमन्त्री ओलीसँगको भेटमा उनले प्रतिवद्धता जनाएका छन् ।

जनकपुरको रामजानकी मन्दिर र मुस्ताङको भ्रमण समेत गर्ने गरी मोदी नेपाल आउन लागेको बताइएको छ ।

शिलान्याश नहुनाका अर्को कारण पनि छ । सो आयोजनाबाट उत्पादित विद्युत्को विद्युत् खरिद सम्झौता समेत हालसम्म हुन सकेको छैन ।

भारत निर्यात गर्ने गरी निर्माण हुन लागेको सो आयोजनाको विद्युत् खरिद सम्झौताको अन्तिम तयारी भइसकेको छ ।

विद्युत् खरिद सम्झौता नभई कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋण लगानी नगर्ने भएकाले सम्झौतालाई जोड दिइएको सतजलका प्रमुखले प्रधानमन्त्री ओलीसँगको भेटमा बताएका थिए ।

आयोजना र बैंकबीच अनौपचारिक सम्झौता भएको भारतीय अधिकारीले दावी गरेका छन् । अनौपचारिक सम्झौता छिट्टै औपचारिकमा रूपान्तरण गर्ने तयारी गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘शिलान्याशको हल्ला चलाएर ऋण सम्झौताको तयारी गरिएको रहेछ, तयारी नै पूरा नभई कसरी शिलान्याश गर्ने भनेर तत्कालका लागि उक्त कार्यक्रम स्थगित भएको हो, अब ऋण सम्झौता र विद्युत खरिद सम्झौता सँगै गरिन्छ,’ सतजलसँग सम्बद्ध एक प्रमुखलाई उधृत गर्दै भारतीय संचारमाध्यमले लेखेका छन् ।

स्टेट बैंकको निर्देशक समितिको बैठकले आयोजनामा ऋण दिनेबारे प्रस्ताव गरेको छ । यसबारे छिट्टै पूर्ण निर्णय हुने जनाइएको छ ।

आयोजनाले नेपाली बैंबाट पनि करिब ५ अर्ब रकम ऋण लिने तयारी गरेको छ ।

पञ्जाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकमार्फत २६८ किलोमिटर ४ सय केभी प्रसारण लाइन निर्माण गर्न ऋण लिने सहमति गरिएको छ ।

आयोजनामा पञ्जाब बैंकले पनि ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

आयोजनाको वित्तीय व्यवस्थापन हुनासाथ नेपालले विद्युत उत्पादन अनुमतिपत्र जारी गर्ने तयारी गरेको छ ।

भारतको मन्त्रिपरिषदले यसअघि नै आयोजनामा ९१ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृत गरिसकेको छ ।

आयोजनाको बाँध र डाइभर्सन सुरुङ निर्माण गर्न जयप्रकाश एसोसियट्स लिमिटेडसँग सम्झौता भएको छ । करिब १८ अर्ब रुपैयाँमा यसको सम्झौता भएको छ ।

यस्तै, दोस्रो प्याकेजमा ८ किलोमिटर सुरुङ र विद्युतगृह निर्माण गर्न पटेल इन्जिनियरिङ कम्पनीसँग १८ अर्ब रुपैयाँमा सम्झौता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आयोजनाबाट सन् २०२२ को सेप्टेम्बरसम्म विद्युत उत्पादन हुनेछ । आयोजना निर्माणपछि नेपालले हरेक वर्ष २१.९ प्रतिशत अर्थात १९७ मेगावाट विद्युत निःशुल्क पाउने परियोजना विकास सम्झौतामा उल्लेख छ ।


क्लिकमान्डु