अर्थमन्त्री खतिवडाले भनेः पैसा नभएर कर्मचारीको अवकास रोकेका होइनौ



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पैसा नभएर कर्मचारीको स्वेच्छिक अवकास नरोकेको बताएका छन् ।

कर्मचारीहरुको आधिकारिक युनियनका पदाधिकारीसँगको बिहीबार भएको भेटमा अर्थमन्त्री खतिवडाले आफु कर्मचारीलाई ऐन अनुसार स्वेच्छिक अवकास दिन सकारात्मक भएपनि अनुभवी कर्मचारी बाहिरिने भएको हुँदा अहिलेलाई स्थगित गरिएको बताएको अधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले जानकारी दिए ।

‘पैसा नभएर कर्मचारीको अवकास रोकिएको होइन, अनुभवी कर्मचारी बाहिरिएपछि हामीलाई काम गर्न गार्हो हुन्छ कि भनेर अहिले स्थगित गरेका मात्र हौ,’ अर्थमन्त्री खतिवडाको भनाई उद्धृत गर्दै युनियनका उपाध्यक्ष पोखरेलले क्लिकमाण्डूसँग भने ।

अर्थमन्त्री खतिवडाले कर्मचारी युनियनकाको मागको विषयमा थप छलफल प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि गर्ने बताएका छन् ।

कर्मचारी समायोजन ऐनमा स्वेच्छिक अवकासको व्यवस्था छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पन्डितले स्वेच्छिक अवकास कुनैपनि हालतमा नदिने बताउदै आएका छन् ।

ऐनमा २० वर्ष सेवा अवधी पुगेका र ५० वर्ष उमेर कटेका निजामति कर्मचारीलाई ७ वर्षको एकमुस्ट पेन्सन सुविधा दिएर अवकासमा पठाउन सकिने व्यवस्था छ । सो अनुसार ९ हजारभन्दा बढी कर्मचारीले स्वेच्छिक अवकासमा जान निवेदन दिएका छन् ।

नियम अनुसार स्वेच्छिक अवकासमा जानको लागि राजिनामा दिएका कर्मचारीको सूचि वेवसाइटमा प्रकाशित गर्नुपर्ने भएपनि विभागीय मन्त्रीको असहमतिको कारण सूचि प्रकाशित भएको छैन ।

कर्मचारी युनियनले कानून अनुसारको सुविधा दिन माग गर्दै आएका छन् । कानूनमा तोकिएको व्यवस्था अनुसार स्वेच्छिक अवकास रोजेका ९ हजार कर्मचारीलाई बिदा गर्न करिब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।


क्लिकमान्डु