सेयर बजारमा अहिले सट्टेबाज र च्याँखे थाप्नेहरु हाबी भए



श्वेतपत्र आफैंमा यस्तो दस्ताबेज हो, जसको माध्यमबाट सरकारले जनतालाई राष्ट्रिय सरोकारको विषयमा अवगत गराउन जारी गर्छ । बेलायती प्रजातन्त्रको वेस्ट मिनिस्टर मोडल अन्तर्गत तत्काली अवस्थामा आएको संकटको जानकारी जनतालाई दिन अर्थमन्त्री वेस्टन चर्चिलले यसको नामाकरण गर्दै शुरु गरेका थिए ।

हालैमात्र अर्थमन्त्र डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्र यसैको एउटा श्रृंखला हो ।

श्वेतपत्रले देशको विद्यमान अर्थतन्त्रको वास्तविक अवस्थाको चित्रण गर्छ । रोजगारी सिर्जनामा न कुनै उल्लेखनीय प्राप्ति छ, न उत्पादनमूलक उद्योगहरुमा कुनै प्राप्ति भएको छ । न त राज्य संरक्षित योजनाहरुको कुनै ठोस् र नयाँ काम भए नै भएको छ । अर्थतन्त्रलाई प्रत्यक्ष दबाबमा राख्ने व्याजदर घट्ने कुनै संकेत छैन । यस्ता अर्थतन्त्रका सूचकहरु निराश भएको अवस्थामा अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुँजी बजारका अंकहरुको कसरी सुधार अपेक्षा राख्न सकिन्छ ?

कमजोर अर्थतन्त्रकाबीच श्वेतपत्रको हल्लाले मात्रै सेयर बजारका कारोबारीहरु कसरी आश्वस्त हुन सक्छन् । अर्थमन्त्रीले श्वेतपत्रमार्फत् सेयर बजारका दायराहरु निकै संकुचित र सीमीत रहेको अवस्थाको चित्रण गरेका छन् । धितोपत्रमा मात्रै सीमीत हाम्रो सेयर बजारमा विश्व सेयर बजारले प्रयोगमा ल्याएका अन्य औजारहरु जस्तैः सेयर फ्युचर कारोबार, सेयर अप्सन कारोबार जस्ता डेरिभेटिभस् कारोबारको आवश्यकतातर्फ संकेत गरेका हुन् कि जस्तो देखिन्छ ।

सट्टेबाजहरु र च्याँखे थाप्नेहरुका लागि यो निकै राम्रो समय हो । उनीहरु बजारमा सल्बलाइरहेका हुन्छन् । नियमित कारोबारी तथा लगानीकर्ताहरु यीनीहरुसँग सचेत हुन जरुरी हुन्छ ।

कतै अर्थमन्त्रीले ‘स्ट्यागफ्लेसन’ तर्फ संकेत गर्न खोजेका त होइनन् ? अनौपचारिक अर्थतन्त्रको हाबी औपचारिक अर्थतन्त्रमा उल्लेखनीयरुपमा परेको अवस्थाको आधिकारिक पुष्टि गर्न खोज्दैछन् जस्तो पनि भान हुन्छ । अर्थमन्त्रीको श्वेतपत्र पढेर माग र आपूर्तिको असन्तुलन यसको प्रमुख कारक हो अन्यथा नहोला ।

तर, जे जस्तो भएपनि श्वेतपत्रमार्फत् सेयर बजारको अंकको वृद्धिको अपेक्षा राख्नु भड्किलो अवस्थामा दिवासपना मात्रै थियो । सेयर बजारको बारेमा अर्थमन्त्रीले बोलेनन् भनेर रोइलो गर्नुमा पनि कुनै तुक छैन । अर्थतन्त्रले गति लिन शुरु गरेपछि सेयर बजारका अंकहरु स्वत वृद्धि हुँदै जानेछन् ।

तर, अर्थमन्त्रीले श्वेतपत्रमार्फत् हाम्रो अर्थतन्त्रलाई आगामी बाटो त्यति सहज छैन भन्ने संकेत गराइसकेका छन् ।

आशा गरौं, उनले उक्त संकेतकै आधारमा अर्थतन्त्र सबलीकरणको मागतर्फ आफ्नो कार्यको थालनी गरिसकेका छन् । जसको प्रत्यक्ष असर सेयर बजारमा देखिन्छ । सेयर कारोबारमा आर्थिक परिसूचक प्राविधिक सूचकसँगै कारोबारीहरुको मनोविज्ञानले पनि ठूलो काम गरिरहेको हुन्छ । आजको अवस्थामा माथि उल्लेख गरिएका सबै औजारहरुले सेयर बजारलाई टेवा दिन सकिरहेको छैन । यस्तो परिस्थितिमा सेयर बजार वृद्धि हुनु वा झनै अस्वभाविक वृद्धि हुनु भनेको भोलि प्रत्युत्पादक सावित हुनु हो ।

तसर्थ अर्थतन्त्रको छायाँसँगै यसका अंकहरु पनि चलायमान हुनु राम्रो हुन्छ । हालको बजारलाई समयको हिसाबले विश्लेषण गर्यो– यो सेयर किन्ने बेला हो । अब प्रश्न आउन सक्छ, यदि अर्थतन्त्र कमजोर हुन्छ भने किन अहिले किन्न ? हो तर सरकार सुधारतर्फ पनि लाग्दैछ । यसका संकेतहरु पनि देखिँदैछन् । पुरानो घाटालाई सन्तुलनमा ल्याउन पनि यो आवश्यक छ ।

तर, पुरानो खरिद भन्दा आधिमात्रको खरिद गर्नु उत्तम हुन्छ । यसले बजार अझ तल आउन सक्ने कुरालाई पनि नकार्न सक्दैन । यसका साथै प्राविधिक सूचक तथा आरएसआइ जस्ता ओसिलेटरले पनि २२ प्रतिशतको कमजोर अवस्था देखाउँछ । यसको साथै साप्ताहिकरुपमा हेरिने अनुमानित गतिशिल औषतले पनि तत्कालका लागि बजार बढ्ने संकेत गर्दैन । तसर्थ अहिलेको अवस्थामा बजारका अंकहरुलाई पनि तत् तत् कम्पनीका आर्थिक विवरणहरुको आधारलाई जगमा राखेर कारोबार गर्नु उत्तम हुन्छ ।

तर, सट्टेबाजहरु र च्याँखे थाप्नेहरुका लागि यो निकै राम्रो समय हो । उनीहरु बजारमा सल्बलाइरहेका हुन्छन् । नियमित कारोबारी तथा लगानीकर्ताहरु यीनीहरुसँग सचेत हुन जरुरी हुन्छ ।

पुडासैनी पुँजी बजारका जानकार हुन् ।


पुष्प दुलाल