बामपन्थी सरकारसँग लगानीकर्ता ‘डिप्रेस’ हुँदा सेयर बजार घट्यो: पूर्वअर्थमन्त्री डा. महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले बामपन्थी सरकारसँग सेयर बजारका लगानीकर्ताहरु डराउँदा सेयर बजार लगातार घटेको बताएका छन् । आफ्नै निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै महतले यसरी सेयर बजार लगातार घट्नु राम्रो नभएको बताए ।

‘नयाँ सरकार गठन भएपछि लगातार सेयर बजार घटिरहेको छ, बामपन्थी सरकारलाई लगानीकर्ताले पूर्ण विश्वास नगरेका कारण सेयर बजार घटेको हो,’ महतले भने, ‘फेरि अर्थमन्त्रीले पनि अनुत्पादक भन्दै टिप्पणी गरिरहनु भएको छ । र घट्दो सेयर बजारलाई सम्बोधन गर्ने नीति लिएको देखिँदैन ।’

सेयर बजारलाई अनुत्पादक भन्न नहुने महतको तर्क छ । तर, सेयर बजारमा हुने म्यानुपुलेसन भने गलत भएको उनले बताए ।

‘नेपाली सेयर बजारमा कहिलेकाहीँ म्यानुपुलेसन पनि हुने गरेको छ, जुन गलत हो,’ उनले भने ।

‘सेयर बजार अनुत्पादक होइन, यो त अर्थतन्त्रको ऐना हो, पल्स हो,’ उनले भने, ‘कुनै पनि देशमा लगानीको वातावरण छ कि छैन भनेर त्यहाँको स्टक मार्केट कस्तो छ भन्ने दृश्यले निर्धारण गर्छ ।’

विगतमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजी बढाउने नीति लिएकाले बामपन्थीको सरकार भएपनि नेप्से सूचक अहिलेसम्मकै उच्च १८८१ अंक पुगेको थियो । पुँजी बढाउने नीतिलाई देखाएर सेयर बजारलाई म्यानुपुलेट गरि बढाइएको महतले बताए ।

तर, अहिलेको अवस्थामा नेप्से इन्डेक्स १४ देखि १५ सयको हाराहारीमा हुँदा राम्रो हुने उनको भनाई थियो ।

‘१८८१ पुगेको नेप्से सूचक एकाएक ११/१२ सय अंकमा झर्नु करेक्सन होइन, बामपन्थी सरकारसँग लगानीकर्ताको डिप्रेसन हो,’ उनले भने ।

कांग्रेसको सरकार हुँदा सेयर बजारका लगानीकर्ताको आत्मविश्वास बढ्ने महतको भनाइ थियो ।


पुष्प दुलाल