हैदरावाद हाउसबाट ओली र मोदीले अरुण तेस्रोको शिलान्याश गर्ने



प्रधानमन्त्री ओलीको यसअघिको भारत भ्रमणको फाइल फोटो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत २३ देखि २५ गतेसम्म भारत भमणमा जान लागेका छन् ।

भ्रमणलाई राजनीतिक भन्दा पनि आर्थिक समृद्धिको पक्षमा पार्न अनेकन प्रयास गरिने सरकारको तयारी छ ।

विशेष गरी भ्रमणको क्रममा अरुण तेस्रो जलविद्युत् आयोजना र पञ्चेश्वर जलविद्युत् आयोजनाको बारेमा विशेष पहलको तयारी गरिएको छ ।

अरुण तेस्रो भारतीय सरकारी कम्पनी सतजलले निर्माण गर्न लागेको आयोजना हो । कूल ९ सय मेगावाट क्षमताको सो आयोजना निर्माणको चरणमा पुगेको छ ।

सतजल विद्युत् निगमका अनुसार आयोजनाको ठेकेदार आयोजना स्थलमा परिचालित भइरहेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा नै सो आयोजनाको नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हैदरवाद हाउसबाट शिलान्याश गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै भ्रमणको क्रममा लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यिय आयोजनाको बारेमा समेत महत्वपूर्ण निर्णय लिइने बताइएको छ ।

विगत २३ वर्षदेखि चर्चामा मात्रै रहेको सो आयोजनालाई यस पटक मूर्त रुप दिने गरी तयारी गरिएको छ ।

जलविद्युत् र सिंचाईको समेत काम गर्ने गरी आयोजना निर्माण गर्ने भनिएपनि हालसम्म सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन सकेको छैन ।

आयोजनाको विकासका लागि भन्दै विगतमा गरिएका प्रयास समेत साकार हुन सकेको छैन ।

डिपिआर बनाउने जिम्मा पाएको वापकोश इन्डियाले काम सम्पन्न गरेर सुझावका लागि नेपाल र भारत दुवै देशलाई उपलब्ध गराएपनि हालसम्म अन्तिम टुंगो लागेको छैन । डिपिआरलाई अन्तिम रुप दिएर आयोजनाको लागत जुटाउने र निर्माण सुरु गर्ने लक्ष्यका साथ तयारी गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको मन्त्रिस्तरीय निर्णयका आधारमा केही एजेण्डा तय गरिएको छ ।

यस्तै लामो समयदेखि चर्चामा रहेको अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा समेत आवश्यक सहमति हुने अपेक्षा गरिएको छ ।

न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम प्रमुख प्राथमिकतामा रहेका छन् । यसअघि निर्माण सम्पन्न भएको ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम सम्पन्न भएको र विद्युत् समेत आयात भइरहेको अवस्थामा नयाँ प्रसारण लाइन आवश्यक परेको हो ।

यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका क्रममा भएको सहमति अनुसार ग्रीड तथा प्रसारण प्रणालीको विकास तथा विस्तारका विषयमा समेत कुराकानी हुने अपेक्षा गरिएको छ ।

तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने नेपालको आर्थिक उन्नयन र समृद्धिमा नै प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित हुने बताएका छन् । उनले भारतले सद्भाव प्रकटीकरणस्वरुप कुनै ‘उल्लेख्य घोषणा’ गर्नसक्ने बताए ।

नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी नेपाल पक्षले दिएको छ ।

भारतसँग सम्बन्ध सुमधुर र सुदृढ बनाउने यो उपयुक्त अवसर हो, नेपाल र भारतमा लामो समयपछि स्थीर एवं सबल सरकार बनेका र नीतिगत तहमा हुने निर्णय कार्यान्वयनको कसीमा रुपान्तरण गर्न सहज हुनेछ,’ प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री ज्ञवालीले भने ।


क्लिकमान्डु