वैशाख २ गते राष्ट्रिय आर्थिक गणना हुने




काठमाडौं । वैशाख २ गते राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रमा आर्थिक गणना कार्यालय काठमाडौं र नेपाल चेम्वर अफ कमर्सले संयुक्त रुपमा राष्ट्रिय आर्थिक गणनाको जानकारी दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले नेपालमै पहिलो पटक नयाँं वर्षको सुरुवातसँंगै गणनाको काम सुरु हुने जानकारी दिए । वैशाख १ गते शनिबार परेकाले देशैव्यापी रुपमै बैशाख २ गते आइतबारदेखि काम शुरु हुने उनले बताए ।

केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले संघ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था थाहा पाउन गणना गर्न लागिएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यले गणनाबाट मुख्यतया आर्थिक क्रियाकलाप अनुसार प्रतिष्ठानहरुको कुल संख्या स्थिति, तथ्यांक लगायत प्राप्त हुने बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ऐतिहासिक यस काममा सहयोग गर्न निजी क्षेत्र तत्पर रहेको बताए । यसले मुलुकको आर्थिक विकासमा सहयोग हुने विश्वास उनले विश्वास व्यक्त गरे ।

तथ्यांक संकलनका लागि देशैभरि ३ हजार ५ सय जनशक्ति परिचालित हुने कार्यक्रममा जानकारी दिएको थियो । तथ्यांक संकलनपछि यसको प्रशोधन, सार्वजनिकीकरण लगायतका पाँंच वर्षे योजनाका लागि झण्डै ४० देखि ५० करोड खर्च हुने बताइएको छ ।


क्लिकमान्डु