अब काठमाडौंका यी ६ ठाउँमा फ्रि वाइफाइ



काठमाडौं । काठमाडौं महानगरले काठमाडौंका विभिन्न स्थानमा फ्रि वाइफाइ दिने भएको छ । अबको ६० दिनमा काठमाडौंका सम्पदा क्षेत्रमा वाइफाइ फ्रि हुनेगरी सम्झौता गरि काम भइरहेको छ ।

काठमाडौं महानगरपालिका र वर्डलिङबीच बसन्तपुर, बौद्ध, स्वयम्भू, शंखपार्क, वालाजु वाइसधारा, र पशुपति क्षेत्रमा ६० दिन भित्रमा निःशुल्क वाइफाई सेवा सुचारु गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

आइतबार एक कार्यक्रमबीच काठमाडौं महानगरपाकिलाका शासकीय अधिकृत धनिराम शर्माले र वल्र्ड लिङ्ककातर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका हुन् ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले ११ महिना वर्षअघि निर्वाचनमा जाँदा काठमाडौंमा वाइफाइ फ्रि गर्ने घोषणा गरेका थिए । मेयर निर्वाचित भएको वर्षदिनको अवसरमा ६ ठाउँमा भने वाइफाइ फ्रि गर्ने गरी काम अघि बढाएको छ ।

सो अवसरमा महानगरपालिकामा प्रमुख  शाक्यले नि:शुल्क वाइफाइ सेवाको प्रभाव विश्लेषणपछि थप सेवा विस्तार गर्ने प्रतिवद्धता जनाए।

‘नागरिकको जीवनमा प्रविधि जोड्ने प्रयास सोरुप यो कार्य अघि बढाइएको हो, कतै यो दुरुपयोग पो हुन्छ कि, चिन्ता पनि छ । यसबाट आएको परिणामपछि पहुँच र सेवा विस्तार गर्छौं,’ प्रमुख शाक्यले भने ।

महानगर क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने नीतिगत व्यवस्थाबमोजिम कार्यक्रमम गरिएको प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले बताए ।

महानगरसँगको सम्झौताबमोजिम गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको वल्र्ड लिङ्कका निर्देशक विजयकुमार जलानले बताए ।

सम्झौताबमोजिम महानगरपाकिलाका सम्पदा क्षेत्रहरु आउँदो ६० दिनभित्र वल्र्ड लिङ्कले सेवा जडान गरिसक्नेछ । यदि यसो हुन नसकेको अवस्थामा महानगरको अनुमति लिएर थप १ महिना समय थप गरेर वाईफाइ जडान हुनेछ । त्यस अवधिमा पनि जडान हुन नसके सम्झौता स्वत रद्द हुनेछ ।

वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमवीपीएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् ।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंख पार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् ।

सेवामा सवैको पहुँच पुगोस् भन्ने दृष्टिले एक पटक वाइफाइ चलाउनेले ३० मिनेट सेवा लिइसकेपछि सिस्टमले उसलाई त्यसदिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाइन्टबाट सेवा लिन सक्नेछ ।

यसको प्रभावकारिता हेर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारि एकाईबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समितिको व्यवस्था गरिने महानगरपाकिलाले जानकारी दिएको छ ।


क्लिकमान्डु