चर्कियो प्रदेश नं ३ को राजधानी विवाद, कोही काभ्रे ताक्ने, कोही नुवाकोट राख्ने



काठमाडौँ । प्रदेश नं ३ को राजधानीको विषयलाई लिएर विवाद सुरु भएको छ ।

काभ्रेपलान्चोकका ४ प्रदेश सांसदले बुधबार प्रदेश राजधानी काभ्रेको आइटी पार्कमा हुनुपर्ने भन्दै प्रदेश संसदमा प्रस्ताव दर्ता गराएको भोलि पल्ट अर्थात बिहिबार नुवाकोटका ४सांसदले पनि राजधानी नुवाकोट हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

यस्तै राजधानी हेटौडा नै हुनुपर्ने भन्दै बिहिबार हेटौडामा युवा तथा विद्यार्थीले जुलुश निकालेका छन् ।

अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नं ३ को अस्थायी राजधानी हेटौडा तोक्यो । हाल हेटौडामा प्रदेश सरकार, प्रदेश संसद तथा अन्य सरकारी कार्यालय स्थापना भएका छन् ।

संविधानअनुसार दुई तिहाई सांसदले निर्णय गरेपछि प्रदेशको राजधानी सार्न पाइने व्यवस्था छ । तर एक पछि अर्को गर्दै फरक फरक जिल्लाका प्रदेश सांसदले धमाधम आफूलाई सुगम पर्ने स्थानमा नै प्रदेश राजधानी हुनुपर्ने माग सहित प्रस्ताव दर्ता गराएपनि प्रदेश राजधानी विवाद सतहमा देखिएको हो ।

प्रदेश राजधानीको विवाद राम्रै गरी सतहमा देखिने भएको छ । हेटौडाको राजधानीलाई सार्न नदिने पक्षमा मकवानपुर र चितवनका सांसद एक जुट छन् । सिन्धुलीका सांसदको पनि मत हेटौडा तिर नै पर्ने देखिन्छ ।

मकवानपुरका सबै जसो राजनीतिक दल हेटौडामा नै राजधानी राख्नुपर्नेमा एक मत छन् । तर फरक फरक प्रस्ताव दर्ता गराएर राजधानीको विषयलाई थप विवादित र जटिल बनाउन खोजेको भन्दै बिहिबार हेटौडा गरिएको प्रदर्शन पनि त्यसैको संकेत हो ।

काभ्रेका प्रदेश सांसद चन्द्रबहादुर लामा प्रस्तावक रहेको र वसुन्धरा हुमागाई, रत्नप्रसाद ढकाल र लक्षम लम्साल समर्थक रहेको प्रस्ताव यही चैत १४ गते प्रदेश संसद सचिवालयमा दर्ता भएको छ । उनीहरुले भौतिक पूर्वाधारको दृष्टिले आइटी पार्क नै प्रदेश राजधानीका लागि उपयुक्त रहेको दावी गरिएको छ ।

यस्तै नेपालको स्रविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशसभाका तत्काल कायम रहेका सदस्यको दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी तोक्ने संवैधानिक अधिकार रहेको भन्दै नुवाकोटका प्रदेशसभा सदस्य बद्री मैनाली प्रस्तावक रहेको र हिरानाथ खतिवडा, आशामाया तामाङ र शान्ति थिङ सर्मथक रहेको नुवाकोटको विदुर नै राजधानी उपयुक्त रहेको प्रस्ताव समेत दर्ता भएको छ ।


क्लिकमान्डु