जोखिम बढाएको भन्दै एकल बीमा लेखको सीमा १५ प्रतिशतमा राख्न निर्देशन




काठमाडौं । केही महिना अगाडि एउटा जीवन बीमा कम्पनीमा एकल बीमा लेखको विषयलाई लिएर ठूलो हल्लीखल्ली मच्चियो ।

खासगरी बीमा गराउने, बीमा लेखको धितोमा कर्जा लिने र त्यसपछि त्यसलाई रद्द गराउने प्रबृत्ति बढेपछि यस्तो हल्लीखल्ली भएको थियो ।

एकल बीमाको विषयलाई लिएर विभिन्न खालका गुनासो आएपछि समितिले आफ्नो एक्चुरीसँग समेत राय लिएको थियो ।

बीमा समितिले ९ वटा जीवन बीमा कम्पनीको लाइसेन्स दिएपछि व्यवसाय आक्रामक रुपमा अगाडि बढेको छ । बीमा गर्ने संख्यापनि बढ्दै गएको छ ।

जीवन बीमा कम्पनीले तीनखालको बीमा शुल्क संकलन गर्छन् । एउटा सरकारले बैदेशिक रोजगारीमा जानेको लागि अनिवार्य गरेको बैदेशिक रोजगारको म्यादी जीवन बीमा तथा अर्को दुईवटा सावधिक जीवन बीमा र एकल बीमा ।

बैदेशिक रोजगारीमा जाने नेपालीले अनिवार्य बीमा गर्नुपर्ने भएको हुँदा यस्तो बीमा सरकारले नै अनिवार्य गरिदिएको बीमा हो । त्यसपछि कम्पनीले बीमाको पोलीसी बिक्री गरेर गर्ने बीमा हो ।

६ महिनाको अवधीमा बीमा कम्पनीले ६ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा ४ अर्ब २३ करोड रुपैयाँ सावधिक बीमालेखको रहेको छ । म्यादी जीवन बीमा मार्फत २ अर्ब बीमा शुल्क संकलन भएको छ ।

संचालनमा रहेका कम्पनीहरुले ६ महिनाको अवधीमा संकलन गरेको बीमा शुल्कमा ८ प्रतिशत हिस्सा एकल जीवन बीमा लेखको छ । यस्तो बीमा संसारभर नै गराउने गरिन्छ । बीमितले एकैपटक बीमा शुल्क बुझाएर यस्तो बीमालेखमा गर्ने गर्छन् ।

पछिल्लो समय आएका नयाँ बीमा कम्पनीहरु एकल बीमा योजनामा बढी आकर्षित भएका छन् । केही बीमा अभिकर्ताले एकल बीमामा जोड दिन थालेका छन् ।

केही बीमा अभिकर्ताले कम्पनीको व्यवसाय नै नियन्त्रण गर्नेगरी एकल बीमामा जोड दिएको एक कम्पनीका सिइओ बताउँछन् ।

‘विश्वभर नै एकल बीमालेख प्रचलनमा छ, तर यसले बीमा क्षेत्रलाई जोखिममा पार्नु भएन भन्ने हाम्रो भनाई हो,’ उनले भने ।

बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाईँ बीमा कम्पनीलाई एकल बीमालेखको सीमा कुल बीमा शुल्कको १५ प्रतिशतभन्दा नबढाउन मौखिक रुपमा निर्देशन दिएको बताउँछन् ।

‘एउटै क्षेत्रमा मात्र व्यवसायलाई केन्द्रीत गरेपछि स्वभाविक रुपमा जोखिम बढी हुन्छ,’ हामीले एक्चुरीसँग छलफल गर्दा उनीहरुले यस्तो कुनै उपयुक्त सीमा तोक्दा फरक नपर्ने सुझाव दिए, अहिले नेपाली बजारमा १५ प्रतिशतको सीमा उपयुक्त हुने देखिएपछि मैले कम्पनीका सिइओहरुलाई बोलाएर मौखिक रुपमा त्यही सीमामा रहन भनेको छु,’ अध्यक्ष चापागाईले क्लिकमाण्डूसँग भने ।

खासगरी जीवन बीमा शुल्क एकै पटक तिर्ने र आकस्मिक रुपमा कमाएका व्यक्तिले बीमा गराउने यस्तो खालको बीमा गराएका हुन्छन् । पछिल्लो समय रियलस्टेट ब्यवसायी यस्तो बीमाप्रति बढी आकर्षित भएका देखिएको छ ।

संचालनमा रहेका बीमा कम्पनीहरुले ६ महिनासम्म गरेको बीमा शुल्कको आधारमा सबैभन्दा बढी एकल बीमा व्यवसायमा हिस्सा नयाँ कम्पनी युनियन लाइफ इन्स्योरेन्सको छ । युनियनले पुस मसान्तसम्ममा २५ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा ९ करोड २२ लाख रुपैयाँ एकल बीमा लेखबाट आर्जन गरेको छ ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्ण सुरुवातमा कम्पनीमा एकल बीमाको हिस्सा बढी भएपनि अहिले घटेको बताउँछन् ।

‘पुस मसान्तमा हाम्रो हिस्सा बढी भएपनि क्रमशः घटाउदै लगेका छौं,’ नयाँ प्रोडक्टहरुपनि स्वीकृत भएको हुँदा हाम्रो फोकस अब अरुमा बढी हुन्छ,’ कर्णले भने ।

पुराना कम्पनीमा भने राष्ट्रिय बीमा कम्पनीले एकल बीमा गराएको छैन । बीमा शुल्कको आधारमा प्राइम लाइफको हिस्सा १२ प्रतिशत छ ।


क्लिकमान्डु