शुक्रबारदेखि दोस्रो राष्ट्रिय अग्र्रानिक कृषि मेला हुँदै




काठमाडौं । शुक्रबारदेखि दोस्रो राष्ट्रिय अग्र्रानिक कृषि मेला सुरु हुने भएको छ । चैत्र १९ गतेसम्म हुने मेलामा ७७ जिल्लामा उत्पादन भएका अग्रानिक कृषि सामाग्रीहरु प्रदर्शनमा राखिने छ ।

१५ लाख बजेटमा सञ्चालन हुन लागेको यो कार्यक्रम ललितपुरको पाटन दरवार स्क्वायर संग्राहलयमा हुन लागेको हो । मेलामा निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।

कंचनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले आयोजना गरेको सो मेलामा ५० वटा स्टलहरु रहने छन् मेलामा अग्र्रानीक चिया, कफी, मह, तरकारी र फलफूलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिने मेला आयोजक समितिकी संयोजक शान्ता बाँस्कोटा कोइरालाले जानकारी दिइन् ।

उनका अनुसार मेलामा १० वटा अग्र्रानिक प्रमाणपत्र भएका सामाग्री राखिने छ ।

‘हरेक अग्र्रानिक खेती गर्ने कम्पनीलाई हामीले प्रमाणपत्र दिएका हुन्छौँ, उनीहरुले विक्री गर्ने खाने कुरामा प्रमाण नम्बरसहित राखिने छ,’ उनले भनिन् ।

मेलामा स्टल राख्नका लागि प्रतिस्टल १५ हजार रुपैयाँ रहेको कोइरालाले बताइन् ।

‘प्रतिस्टल १५ हजार भए पनि हामीले उपत्यका बाहिर बिकट ठाउँबाट अग्र्रानिक स्टल राख्न चाहानेहरुलाई प्रतिस्टल १२ हजार ५ सय रुपैयाँमा नै दिएका छौँ,’ उनले भनिन् ।

मेलामा २ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्मका सामाग्रीहरु प्रदर्शनी तथा विक्रीका लागि राखिने छ । मेलालाई १ लाख बढीले अवलोकन गर्ने आयोजकले बताएका छन् ।


क्लिकमान्डु