जनप्रतिनिधिलाई उपचार खर्च दिदै काठमाडौं महानगर, अब कार्यविधि नै बनाइने




काठमाडौं । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको सम्पूर्ण स्वास्थ्य उपचार खर्च व्यहोर्ने भएको छ । महानगरपालिकाको चैत ७ गते बसेको १४ औं बोर्ड बैठकले जनप्रतिनिधिको स्वास्थ्य उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

महानगरपालिका दुई जना वडा अध्यक्ष विरामी भएर अस्पतालमा उपचार गरिरहेका छन् । वडा नम्बर २४ का बालकृष्ण श्रेष्ठ छाला सम्बन्धी रोगबाट ग्रसित छन् भने वडा नम्बर ३१ अध्यक्ष नवराज पराजुलीलाई मुटु सम्बन्धी रोग लागेको छ ।

यसरी जनप्रतिनिधि विरामी भएर उपचार खर्च माग्न थालेपछि महानगरले अस्पतालको विलको आधारमा रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगरको बोर्ड बैठकले उनीहरुको उपचारमा लागेको खर्चबाट केही रकम दिने निर्णय प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।

‘जनप्रतिनिधिले उपचार खर्च मागेपछि अस्पतालको बिलका आधारमा केही रकम उपलब्ध गराउने निर्णय भएको छ,’ शर्माले भने ।

यसरी जनप्रतिनिधिले उपचार खर्च माग्न थालेपछि महानगरले यसको कार्यविधि नै बनाएर रकम दिने ब्यवस्था गर्न लागेको छ । अहिले कार्यविधि नबनेका कारण बिल बिजनको आधारमा खर्च दिने र, त्यसपछि कार्यविधि नै बनाएर खर्च दिने ब्यवस्था गरिने शर्माको भनाइ छ ।

महानगरले चालु आर्थिक बर्षको लागि २५ लाख रुपैयाँ औषधी उपचार खर्चको लागि छुट्टयाएको छ । यस्तो रकमबाट जनप्रतिनिधिका साथै महानगरका कर्मचारीलाई पनि प्रदान गरिने भएको छ ।

महानगरले यसअघि पनि आफ्ना जनप्रतिनिधिलाई उपचार खर्च उपलब्ध गराएको थियो । यसअघि ६ नम्बरका वडा सदस्य र २७ नम्बरका वडा अध्यक्षलाई पनि यसै गरी उपचार खर्च दिइएको थियो ।


क्लिकमान्डु