कलंकी–कोटेश्वर सडक साढे एक किलोमिटर बाँकी, असारसम्ममा बनिसक्ने




काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको ८.९ किलोमिटर विस्तार भएको छ । चीन सरकारको आर्थिक सहयोगमा कलंकी–कोटेश्वर खण्डको १०.३९ किलोमिटर सडक विस्तार भइरहेको हो ।

कलंकी–कोटेश्वर खण्डको १.४ किलोमिटर सडक विस्तारको काम बाँकी रहेको कलंकी–कोटेश्वसडक विस्तार आयोजनाका इन्जिनियर निरन्जन शर्माले जानकारी दिए ।

‘कोटेश्वरदेखि बल्खुसम्मको सडक विस्तारको काम सकिसकेको छ, बल्खुतर्फ सव ग्रेड (पुरानो माटो हटाएर नयाँ माटो राख्ने) को काम तीब्र गतिमा भईरहेको छ, साढे ३ महिनामा चक्रपथ विस्तारले पूर्णता पाउँछ’ शर्माले क्लिकमाण्डूसँग भने ।

चीनको सांघाइ कन्सट्रक्सन ग्रुपले २०७० असारदेखि चक्रपथको कलंकी–कोटेश्वर सडक विस्तारको काम गरिरहेको छ । चिनीयाँ कम्पनीले २०७३ पुस महिनासम्ममा सडक विस्तार गर्नेगरी ठेक्का लिएको थियो । २०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण कम्पनीले लक्ष्य अनुसारको काम गर्न सकेको थिएन । सोही कारण देखाउँदै कम्पनीले २०७५ असार महिनासम्ममा विस्तार सक्नेगरी डेढ बर्ष सम्झौता अवधि थप गरेको थियो ।

ठेकेदार कम्पनीले साढे ३ महिना भित्रमा साढे १ किलोमिटर सडक विस्तार गर्नु पर्ने देखिएको छ । चिनियाँ कम्पनीले असार महिना भित्रमा सडक विस्तारको काम सक्ने देखिएको इन्जिनियर शर्मा बताउँछन् ।

पुलको काम सकियो
चिनियाँ कम्पनीले कलंकी–कोटेश्वर खण्डमा ४ वटा मोटरेबल पुलको निर्माण कार्य सकिसकेको छ । नयाँ ४ वटा पुलका साथै पुराना पुलको मर्मत कार्य पनि सम्पन्न भइसकेको छ ।

बालकुमारी स्थित मनोहरा, बागमती पुल, बल्खु खोला र कंलकी खसीबजारमा मोटरेबल पुल निर्माण गरिएको हो ।

८५ प्रतिशत काम सकियो
चिनियाँ सरकारले ५ अर्ब रुपैयाँको लागतमा कलंकी–कोटेश्वर सडक विस्तारको काम गरिरहेको छ । चक्रपथको साँधुरो सडकलाई ८ लेनको फराकिलो सडकको रुपमा विकास गरिदैछ ।

१०.३९ किलोमिटर सो सडक खण्डको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको इन्जिनियर शर्मा बताउँछन् ।

‘सडक विस्तारको १५ प्रतिशत काम बाँकी छ, चिनियाँ कम्पनीसँग सडक विस्तार गर्नका लागि साढे ३ महिनाको समय छ, समय कम भएकाले कम्पनीले तीब्रगतिमा विस्तारको कार्य गरिरहेको छ,’ शर्माले भने ।

अण्डरपास ९० प्रतिशत सकियो
कलंकी–कोटेश्वर सडक विस्तार आयोजना अन्तर्गत नै कलंकीमा ८ सय मिटर अण्डरपास बनाउने काम पनि हुँदैछ । काठमाडौं उपत्यका छिर्ने प्रमुख सडक खण्डको रुपमा कलंकी रहेको छ । कलंकीमा हुने अधिक सवारी चापलाई नियन्त्रण गर्नका लागि अण्डरपास बनाउन थालिएको हो ।

चक्रपथमा गुड्ने गाडीहरु अण्डरपासबाट गुड्ने छन् भने नागढुङ्गा र कालीमाटी भएर आउने सवारीहरु अण्डरपासको माथिबाट गुड्ने छन् । यसबाट कलंकीमा हुने सवारी जामको समस्या न्युनिकरण हुनेछ ।

अण्डरपासको ९० प्रतिशत काम सकिएको इन्जिनियर शर्मा बताउँछन् ।

अण्डरपासलाई कलंकी–कोटेश्वर र कलंकी–बालाजु तर्फगरी २ भागमा विभाजन गरिएको छ । अण्डरपासको कलंकी–कोटेश्वर खण्डको निर्माण कार्य सम्पन्न भईसकेको छ । कलंकी–बालाजु खण्डमा पेभमेन्ट सेक्सन (गाडी गुड्ने ठाउँ) को निर्माण कार्य जारी रहेको इन्जिनियर शर्मा बताउँछन् ।

कलंकी–कोटेश्वर खण्डको पेभमेन्ट निर्माणको काम सकिएसँगै फिनिसिङ र रंगरोगनको काम हुनेछ ।


क्लिकमान्डु