आगामी वर्ष ८९ दिन मात्र बिदा, ५७ हजार कर्मचारी स्थानीय तहमा खटाउने



काठमाडौं । सरकारले ५७ हजार कर्मचारीलाई स्थानीय तहमा खटाउने भएको छ ।

बुधवार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी खटाउने निर्णय गरेको हो ।
सामान्य प्रशासनमन्त्री लालबाबु पन्डितले कर्मचारी खटाउने निर्णय मन्त्रीपरिषद्ले गरेको जानकारी दिए ।

‘स्थानीय तहमा पदहरु सिर्जना भएको छ,त्यहाँ केन्द्र सरकारले कर्मचारी खटाउने छ’,पन्डितले क्लिकमाण्डूसँग भने,‘कर्मचारीहरु स्थानीय तहमा खटिएपनि केन्द्र सरकार अन्तर्गत हुने छन्।’

उनले कर्मचारी समायोजनको विषयमा कर्मचारी खटाएपछि निर्णय गर्ने बताए । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल जारी भएको मन्त्री पन्डितको भनाई छ ।

नियम अनुसार अवकासमा जाने कर्मचारीको सार्वजनिक सूचना दिनुपर्ने छ । प्रधानमन्त्री केपी ओली र सामान्य प्रशासनमन्त्री पन्डितले सार्वजनिक रुपमा अवकासमा नपठाइने बताएका छन् ।

यस्तै मन्त्रीपरिषद्को बैठकले आगामी वर्ष २०७५ सालमा ८९ दिनमात्र बिदा दिने निर्णय गरेका छ । जसमा ६७ दिन सबैको लागि बिदा र २२ दिन धार्मिक बिदा रहेका छन् ।

यस्तै मन्त्रीपरिषद्ले २१ वटा मन्त्रालयले केन्द्रमा रहने निर्णय गरेको छ । मन्त्रालयमा अब २ हजार ६५४ जना कर्मचारी कार्यरत हुने छन् ।


क्लिकमान्डु