नेपाल इन्भेष्टमेण्ट बैंकका २ शाखा स्थानान्तरण



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन २ वटा शाखा स्थानान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको उद्घाटन गरेका हुन् ।

नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर–२० चनौलीमा र देबचूली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो ।

नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।

बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ छ । पुष मसान्तको वित्तिय विवरण अनुसार बैंकको निक्षेप १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकले ४ वटा एक्स्टेन्सन काउन्टर तथा ९ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र र ९८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले ६१ वटा शाखारहित बैंकिङ सुविधा पनि प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु