स्टाण्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकको यस्तो सहुलियत



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई समान रुपमा व्यवहार नगरेको गुनासो सधै सुनिन्छ ।

विकास बैंक र फाइनान्स कम्पनीका संचालक सिइओले राष्ट्र बैंकले वाणिज्य बैंक सरह आफुलाई नहेरोको आरोप लगाउने गर्छन् ।

यस्तै गुनासो वाणिज्य बैंकका लगानीकर्ता र सिइओको पनि राष्ट्र बैंकसँग हुन्छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई समान रुपमा व्यवहार गरेन ।

स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउनको लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दियो । नेपाल बैकर्स संघसँगको सहकार्यमा कुन स्थानीय तहमा कुन बैंकको शाखा खोल्ने सहमति भयो ।

सो अनुसार राष्ट्र बैंकले आज निर्देशिका जारी गरेर शाखा खोल्ने समय सिमा तोकेको छ । समयभित्र शाखा नखोले कारवाही गरिने व्यवस्था राष्ट्र बैंकको निर्देशनमा छ ।

राष्ट्र बैंकले संचालनमा रहेका सबै वाणिज्य बैंकलाई शाखा खोल्ने निर्देशन दिएको थियो । तर,यसमा छुट पाएको बैंक भने स्टाण्डर्ड चार्टर्ड बैंक हो ।
राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई आफ्नो तरिकाले स्थानीय तहमा शाखा खोल्न भनेपनि स्टाण्डर्ड चार्टर्ड बैंकले भने शाखा नखोल्दापनि हुने छुट पाएको छ ।

नेपालमा अहिले पनि वाणिज्य बैंकका स्टाण्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेका सिइओ छन् । धेरैजसो वाणिज्य बैंकका सिइओहरु राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकलाई छुट दिएको आरोप लगाउँछन् । औपचारिक रुपमा मुख नखोलेपनि गुनासो सबैको एउटै हुन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल कुनैपनि बैंकलाई शाखा खोल्ने विषयमा छुट नदिएको बताउँछन् ।

‘कुन स्थानीय तहमा कुन बैंक जाने भन्ने विषय बैकर्स संघसँग सहमति गरेर छनोट भएको हो’,उनले क्लिकमाण्डूसँग भने,‘संघलाई नै हामीले छनोट गर्ने जिम्मा दिएका थियौ,सो अनुसार काम भएको हो।’ उनले केन्द्रीय बैंकले कसैलाईपनि छुट नदिने बताए ।

खासगरी संघको बैठकमा राष्ट्र बैंकले आफ्नो विशेषता स्थानीय तहमा पुगेर शाखा खोल्ने नभएको र सो अनुसार आफुलाई छुट दिन व्यवस्था गर्न माग गरेको थियो ।

नेपालको अन्तराष्ट्रिय बैकिङ कारोबार स्टाण्डर्ड चार्टर्ड बैंक मार्फत हुने गर्छ ।
स्टाण्डर्ड चार्टर्ड बैंकका संस्थागत मामला प्रमुख दिवाकर पौडेल आफुहरु विज्ञता तल्लो तहमा गएर सेवा दिने नभएको हुँदा स्थानीय तहमा नगएको बताउँछन् ।

‘स्टाण्डर्ड चार्टर्डले यहाँ बैंकको पनि बैंकको रुपमा काम गरिरहेको छ’,पौडेलले क्लिकमाण्डूसँग भने,‘ हामीले यहाँ बैंकको पनि बैंकको रुपमा समेत काम गरेका छौ, तल्लो तहमा भन्दा हामीले माथिल्लो तहमा राम्रो काम गरिराखेका छौ।’
सो अनुसारको आग्रह केन्द्रीय बैंकलाई आफुहरुले गरेको र हाम्रो दक्षतालाई राष्ट्र बैंकले स्वीकार गरेको कुरा पौडेल बताउँछन् ।


क्लिकमान्डु