ऋण दिने पैसा नभएपछि आइएफसीसँग आफैँ ऋण माग्न पुगे ५ बाणिज्य बैंक




काठमाडौं । बैंकहरुमा कर्जा दिन सक्ने रकम (तरलता) को अभाव भएपछि केही बाणिज्य बैंकहरुले विश्व बैंक ग्रुप अन्तरगतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बाट ऋण लिने प्रक्रिया सुरु गरेका छन् ।

आइएफसीसँग ऋण लिनको लागि करिब ५ वटा बाणिज्य बैंकहरुले प्रक्रिया अगाडि बढाएका छन् । केही बाणिज्य बैंकहरुले कर्जा लिने प्रक्रिया निकै अगाडि पुर्याएका भएपनि केही बैंकहरु सुरुवाती चरणमा छन् ।

यसरी आइएफसीबाट ऋण लिने प्रक्रिया अगाडि बढाएका बैंकहरुले आफ्नो नाम भने खुलाउन चाहेनन् । आइएफसीले बाणिज्य बैंकहरुलाई साना तथा मझौला (एसएमइ) कर्जा दिनको लागि ऋण दिन सहमति जनाएपछि बैंकहरुले यस्तो प्रक्रिया अगाडि बढाएका हुन् ।

‘तरलता अभाव भएपछि एसएमइ कर्जा प्रभावित भएको हामीले आइएफसीलाई भनेका छौं, उनीहरुले यसमा हामीलाई ऋण दिने मौखिक आश्वासन दिएका छन्, हामी लिन्छौं होला,’ आइएफसीसँग ऋण लिने प्रक्रिया सुरु गरेका एक बाणिज्य बैंकका अधिकारीले क्लिकमाण्डूसँग भने ।

अहिलेसम्म करिब ५ वटा बैंकले आइएफसीसँग ऋण लिन लिने प्रक्रिया सुरु गरेका छन् । आइएफसीले कति ऋण दिने र कति ब्याजदरमा दिने भन्ने अझै केही खुलाएको छैन ।

‘ब्याज भनेको जोखिमको मूल्य हो, उनीहरुले बैंकको वित्तीय अबस्था जस्ता सुचकहरु हेरेर जोखिम तय गरी सोही अनुसारको ब्याज तय गर्ने भनेका छन्, अहिले नै यति ब्याजमा पैसा पाइने भयो भन्ने जानकारी हामीलाई पनि छैन,’ आइएफसीसँग ऋण लिने प्रक्रिया सुरु गरेको अर्काे बाणिज्य बैंकका अधिकारीले भने ।

‘हामीले ११ प्रतिशत ब्याजमा बजारबाट निक्षेप उठाइरहेका छौं, आइएफसीले योभन्दा केही सस्तोमा ऋण दिन्छ होला, हामीले दिएको ब्याजभन्दा महंगो पर्यो भने ऋण लिने कुरा भएन,’ एक बाणिज्य बैंकका अधिकारीले भने ।

आइएफसीले एसएमइ कर्जाको आकार हेरेर त्यसको अनुपात र यस्तो कर्जाको मागको आधारमा ऋण दिन सकिने बताएको अर्काे बाणिज्य बैंकका अधिकारीले बताए ।

आइएफसीले अहिलेसम्म कम्तिमा ५० करोड रुपैयाँ बराबरको कर्जा दिने गरेको छ । सोभन्दा बढी लिनु परेमा ऋण लिने कम्पनीको परियोजना र कम्पनीको अबस्था जस्ता कुराहरुको अध्ययन गरेर आइएफसी आफैले ऋण रकम तय गर्ने गरेको छ ।

आइएफसीले अहिले एउटा बैंकलाई करिब साढे २ अर्ब रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) सम्म ऋण दिन सकिने मौखिक जानकारी गराएको छ । यस्तो ऋणको ब्याजदर तय नभएपनि अहिले बैंकहरुले मुद्दति निक्षेपमा दिएको ब्याजभन्दा केही सस्तो हुने अपेक्षा बैंकहरुले गरेका छन् ।

‘हामीले ११ प्रतिशत ब्याजमा बजारबाट निक्षेप उठाइरहेका छौं, आइएफसीले योभन्दा केही सस्तोमा ऋण दिन्छ होला, हामीले दिएको ब्याजभन्दा महंगो पर्यो भने ऋण लिने कुरा भएन,’ एक बाणिज्य बैंकका अधिकारीले भने ।

यसअघि पनि बाणिज्य बैंकहरुले आइएफसीबाट यसरी ऋण लिने गरेका थिए । यसरी ऋण लिदा उनीहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने गरेका थिए ।

अहिले नेपाल राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन पाउने कानुनी बाटो खोल्ने गृहकार्य गरिरहेको छ । यस्तो तयारी भएकै बेलामा नेपाली बैंकहरुले आइएफसीबाट लिन लागेको ऋणलाई कसरी सम्बोधन गर्ने भनेर राष्ट्र बैंकले अझै प्रष्ट पारेको छैन ।

‘नेपाली बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने बाटो खोल्ने गृहकार्यमा छौं, आइएफसी लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने मापदण्ड पनि सोही ब्यवस्था अनुसार हुन्छ,’ राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने ।

यस्तो ऋणको भुक्तानी अबधी ३ बर्षको हुनेछ ।

विश्व बैंक अन्तरगतका ४ निकायले नेपालमा काम गरिरहेका छन् । अन्य ३ निकायले सरकारसँग काम गरेका भएपनि आइएफसीले निजी क्षेत्रसँग काम गर्दै आएको छ । उसले निजी क्षेत्रका उद्योग प्रतिष्ठानहरुलाई ऋण दिदै आएको हो । आइएफसीको ऋणको ब्याजदर तुलनात्मक रुपमा सस्तो हुने गरेको उद्योगी ब्यवसायीहरु बताउँदै आएका छन् । आइएफसीले नेपालको निजी क्षेत्रका ब्यवसायीहरुलाई अहिले सबा ४ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रदान गरिरहेको छ ।


क्लिकमान्डु