इयू मिसनको प्रतिवेदन बुझेका सभामुखले भनेः मैले बुझेकै छैन




काठमामडौँ । यूरोपेली संघले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गरेको अनुगमनको प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई चैत ५ गते सभामुखको कार्यकक्षमा बुुझायो ।

खुसी हुँदै महराले प्रतिवेदन बुझे पनि । तर, प्रतिवेदनमा के छ भन्ने कुरा उनले सोधेनन् र सोध्ने आवश्यकता पनि ठानेनन् । जब विवाद बढ्दै गयो, उनले स्पष्टिकरण दिदै भने ‘मैले प्रतिवेदन बुझेकै छैन’ ।

चौतर्फी विरोध भएपछि महराले मंगलबार साँझ एक विज्ञप्ति प्रकाशित गर्न लगाए र भने ‘युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बारेमा तयार पारेको प्रतिवेदन संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बुझेको भनेर सामाजिक सञ्जालहरुमा भइरहेको बहस र विवादका सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीले परराष्ट्र मन्त्रालयमार्फत् सभामुखज्यूसँग भेटवार्ताका लागि गरेको अनुरोध अनुसार चैत्र ५ गते (मार्च २०) मा सभामुखज्यूले संसद सचिवालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो,’ प्रेस नोटमा भनिएको छ ।

‘भेटमा इयूको टोलीले तयार पारेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदन ‘भोलि (चैत्र ६ गते मार्च २१) सार्वजनिक गर्दैछौं, अध्ययनका लागि सभामुखज्यूलाई एकप्रति प्रदान गर्छौं’ भनेपछि उहाँले उक्त प्रतिवेदन लिनुभएको हो,’ सभामुखका प्रेसविज्ञ डिल्ली मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सभामुखले उक्त प्रतिवेदनमा के छ भनेर सोध्दा इयू मिसन टोलीले ‘२९ बुँदे सुझावसहित समग्र रिपोर्ट पेश गरेका छौं’ भनेर जवाफ दिएको समेत जिकिर गरिएको छ ।

छलफलका क्रममा हाल उठिरहेको प्रतिवेदनसम्बन्धी विवादको विषयमा सभामुखसहितको प्रतिनिधि मण्डलले आफ्नो मतसहित मिसन टोलीलाई प्रश्न उठाएको थियो ।

‘अहिले सामाजिक सञ्जालहरुमा सरकारले अस्विकार गरेको प्रतिवेदन सभामुखले किन बुझेको भनेर बहस भइरहेको छ, त्यो सरासर गलत छ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्ययनको लागि इयूको टोलीले सभामुखलाई दिएको उक्त प्रतिवेदन अहिले बुझेको नभई सरकारको धारणा आउनुअघि नै चैत्र ५ गते नै शिष्टाचार भेटवार्ताको क्रममा अध्ययनका लागि लिइएको विज्ञप्तिमा लेखिएको छ ।

‘सरकारले अस्विकार गरिसकेपछि सभामुखले बुझेको भन्ने कुरा सरासर गलत हो, प्रतिवेदनबारे नेपाल सरकारको धारणासँग सभामुखज्यूको धारणा बाझिएको छैन,’ महराले थप प्रष्टिकरण दिएका छन् ।

इयू मिसन टोलीसँग भेटवार्ता भएकै दिन चैत्र ५ गते अनलाइन न्यूज पोर्टलहरु र ६ गतेका दैनिक पत्रिकामा सभामुख महरा र इयू टोलीको भेटघाटको समाचार आइसकेको थियो । समाचारमा प्रष्टसँग ‘इयू टोलीले सभामुखसँग शिष्टाचार भेटघाट गरेको र चैत्र ६ गते पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्ने’ उल्लेख गरिएको थियो ।


क्लिकमान्डु