मेलम्चीले मात्र काठमाडौंमा खानेपानी पुग्दैन, दोस्रो योजना सुरु गर्छुः मन्त्री मगर




काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानीले काठमाडौं उपत्यकाको माग धान्न नसक्ने बताएकी छिन् । एसियाली विकास बैंक (एडीबी)को दक्षिण एसियाली विभागका महानिर्देशकसँगको भेटमा मन्त्री मगरले सो बताएकी हुन् ।

मन्त्री मगरले मेलम्चीको पानी काठमाडौंका लागि अपूग हुने भएकाले दोस्रो चरणको खानेपानी परियोजना संचालनका लागि प्रक्रिया अगाडि बढाएको बताइन् ।

‘मेलम्चीले रिङरोड भित्र मात्र पानी वितरण गर्ने योजना बनाएको छ, काठमाडौंमा प्रयाप्त मात्रमा पानी वितरण गर्नका लागि दोस्रो चरणको खानेपानी परियोजना संचालनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)सँग समन्वय हुँदैछ,’ मन्त्री मगरले भनिन् ।

एसियाली विकास बैकले ढल तथा सरसफाइ व्यवस्थापनका लागि काठमाडौंमा सहयोग गरिरहेको सन्दर्भमा मन्त्री मगरले उपत्यका बाहिर समेत सहयोग गर्न सकिने÷नसकिनेबारे चासो राखेका थिइन् ।

मन्त्रालयले ७ वटै प्रदेशका मुख्य शहरमा ढल व्यवस्थापन तथा खानेपानीका लागि विशेष योजना संचालन गर्ने उनीले जानकारी दिइन् ।

महानिर्देशक हुनले मेलम्ची दोस्रो चरणको आयोजना निर्माणका लागि एडीबीले सहयोग गर्ने प्रतिवद्धता जनाए । रिङरोड बाहिर समेत खानेपानी वितरणका लागि केयूकेएल माफत् अगाडि बढ्न सकिने र प्रदेश स्तरीय योजना कार्यान्वयनमा समेत एडीबी सकारात्मक हुने उनले बताए ।

‘मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा थुप्रै चुनौति देखिए, धेरै पटक काम रोकियो । तर, अहिले हामी सुरुङ निर्माण ब्रेक थ्रु गर्ने अवस्थामा पुगेका छौं,’ हुनले भने ।


क्लिकमान्डु