मेची-महाकाली विद्युतीय रेलको डीपीआर आगामी कात्तिकमै




काठमाडौं । मेची–महाकाली विद्युतीय रेल मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०७५ कात्तिक महिनासम्म तयार हुने भएको छ । विद्युतीय रेलमार्गको लम्बाई ९ सय १६ किलोमिटर लामो हुनेछ । काँकडभित्तादेखि बुटवलखण्डको ६ सय १९ किलोमिटर रेल्वे ट्र्याकको डीपीआर गत मंसिर महिनामै विभागले तयार गरिसकेको छ ।

बुटवलदेखि गड्डाचौकीसम्मको डीपीआर कात्तिक महिनासम्म पूरा गर्ने विभागका इन्जिनियर किरण कार्कीले जानकारी दिए ।

‘काँकडभित्तादेखि बुटवलखण्डसम्मको डीपीआर बनिसकेका छ, बुटलदेखि गड्डाचौकीसम्मको डीपीआर कात्तिक महिनासम्म बनाउने गरी काम गरिरहेका छौं,’ रेल विभागका इन्जिनियर किरण कार्कीले क्लिकमाण्डूसँग भने ।

विभागले मेची–महाकाली विद्युतीय रेल संचालन गर्नका लागि ९ वटा प्याकेटमा डीपीआर निर्माणको काम गरिरहेको छ । हालसम्म विभागले काँकडभित्ता–इनरुवा, इनरुवा–बर्दिवास, बर्दिवास–सिमरा, सिमरा–तामासरिया, तामासरिया–बुटवल खण्डसम्मको ६ सय १९ किलोमिटर रेल्वे ट्रयाकको डीपीआर निर्माण गरिसकेको जानकारी दिएको छ ।

२०७४ साउन महिनादेखि विभागले बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुख्खड, सुख्खड–गड्डाचौकी खण्डसम्मको डीपीआर निर्माणको काम गरिरहेको छ । बुटवलदेखि गड्डाचौकीसम्मको रेल्वे ट्रयाको लम्बाई ३ सय २७ किलोमिटर हुनेछ ।

कति पैसा लाग्छ डीपीआर बनाउन ?
रेलमार्गको डीपीआर बनाउन २ अर्ब ८३ करोड रुपैयाँ खर्च हुने विभागका इन्जिनियर कार्की बताउँछन् ।

‘डीपीआर बनाउन प्रतिकिलोमिटर ३० लाख रुपैयाँसम्म खर्च हुनेछ, भौगोलिक अवस्थाका आधारमा डीपीआरको मूल्य फरक पर्छ, औसतमा प्रतिकिलोमिटर ३० लाख रुपैयाँ बराबर खर्च हुन आउने देखिनछ,’ कार्कीले भने ।

यो खर्च डीपीआर निर्माणको मात्र हो । मुआब्जा वितरणको लागि गरिएको खर्च डीपीआर निर्माणको खर्चमा नजोडिएको कार्की बनाउँछन् ।

रेल्वे ट्रयाक बनाउन ४ अर्ब ७३ करोड
मेची–महाकाली विद्युतीय रेलमार्गको लम्बाई ९ सय ४६ किलोमिटर हुनेछ । रेल्वे ट्र्याक निर्माणका लागि ४ अर्ब ७३ करोड रुपैयाँ लाग्नेछ । रेल्वे ट्रयाक निर्माणमा प्रतिकिलोमिटर ५० करोड रुपैयाँ खर्च लाग्ने विभागले जानकारी दिएको छ ।

मेची–महाकाली विद्युतीय रेलमार्गको निर्माणका लागि विद्युतीय उपकरणहरु रेल्वे ट्र्याकमा जडान गर्नुपर्ने भएकाले पनि ट्र्याक निर्माण महँगो पर्न जाने इन्जिनियर कार्की बताउँछन् ।


क्लिकमान्डु