डेढ वर्ष भित्र ४ ठूला जहाज पार्किङ वे थपिदै, जहाज होल्डिङ गर्नु नपर्ने




काठमाडौं । डेढ वर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार ठूला जहाज राख्न मिल्ने ‘पार्किङ वे’ बनिसक्ने भएका छन् । पार्किङ वे निर्माण कामले तीब्रता समेत लिएको छ ।

देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त जहाज पार्किङ वे नहुँदा जहाज आकाशमै होल्डिङको समय बढ्दो छ ।

पार्किङ वे समस्या कै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयरलाइन्स कम्पनीले उडान अनुमति पाउने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतम बताउँछन् । विमानस्थलले पार्किङ वे समस्याका कारण नयाँ जहाज कम्पनीलाई दिउँसोको समयमा नयाँ उडान तालिका दिन सकेको छैन ।

पार्किङ वे समस्याकै कारण दिउँसो १ वजेदेखि ५ बजेसम्म र बेलुका ८ बजेपछि १२ बजेसम्म जहाज आकाशमै होल्डिङ गर्नु पर्ने अवस्था रहेको गौतम बताउँछन् । बढ्दो जहाज पार्किङ समस्या न्यूनीकरण गर्नको लागि विमानस्थलले खाली ठाउँमा चारवटा साना तथा ठूला जहाज पार्किङ गर्न मिल्ने गरी ‘पार्किङ वे’ निर्माणको कामलाई तीव्रता दिएको उनको भनाइ छ ।

साथै विमानस्थलमा बढ्दो एयर ट्राफिक जाम न्युनिकरण कै लागि पर्यटकीय सिजनमा काठमाडौंबाट हुदै आएको लुक्ला फ्लाइट पनि विराटनगरबाट गर्ने विषयमा छलफल सुरु भएको गौतम बताउँछन् । विमानस्थलले आफ्नो स्रोतबाट बढ्दो जहाज पार्किङ समस्या समाधानका लागि ‘पार्किङ वे’ निर्माण थालेको उनको भनाइ छ ।

‘पूर्वतर्फ पार्किङ रिमोट एयरक्राफ्ट जहाज ‘पार्किङ वे’ निर्माणको काम ३५ प्रतिशतभन्दा बढी भइसकेको छ भने विमानस्थलको नागगरिक उड्डयन तालिम केन्द्रको भवन रहेको ठाउँमा दुईवटा ठूला जहाज पार्किङ वे निर्माणको काम पनि सुरु भएको छ, करिब ५२ करोड रुपैयाँ लागतमा निर्माण हुने पार्किङ वे सञ्चालनमा आएपछि एयर ट्राफिक जाम र जहाज आकाशमै होल्ड गर्नुपर्ने समस्या समाधन हुन्छ,’ गौतमले भने ।

पार्किङ वे समस्याका कारण उडान तालिकामा समस्या आएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । अहिले त्रिभुवन विमानस्थलमा ९ वटा मात्रै अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाज राख्न मिल्ने पार्किङ वे छ । त्यसमा पनि नेवानिको एउटा लिलामी गरिएको बोइङ त्यही राख्नु पर्दा समस्या भएको उनको भनाइ छ । निर्माणधीन चारवटा जहाज पार्किङ वे निर्माण सम्पन्न भएपछि जहाज होल्डको समय पनि शून्य हुने उनको दाबी छ ।


क्लिकमान्डु