मेलम्ची खानोपानीको सुरुङ: मन्त्री २५ दिनमा सकिन्छ भन्ने, आयोजना ७९ दिन म्याद थपिदिने




काठमाडौँ । गत बुधबार खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले २५ दिन भित्र मेलम्ची खानेपानी आयोजनाको सुरुङ ब्रेक थ्रू हुने घोषणा गरिन् ।

रिपोर्टस क्लबमा पुगेर उनले गरेको घोषणाको समाचारलाई धेरै जसो सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरे ।

काकाकूल जस्तै भएको काठमाडौँ उपत्यकलाई मेलम्चीको पानी समयमै आउँला र धारामा धित मरुन्जेल पानी थापूँला र पिऊला भन्नेलाई मन्त्री मगरको घोषणा एउटा सुखद समाचार थियो नै ।

आयोजनामा भइरहेको काम हेर्दा भने मन्त्री मगरले घोषणा गरे जस्तो २५ दिन भित्र सुरुङ ब्रेक थ्रु हुने देखिएको छैन ।

निर्माण सम्पन्न भएको सुरुङको समेत ढलान कार्य अगाडि बढेको छैन । हालसम्म ३ किलोमिटर सुरुङको मात्रै ट्रिटमेन्ट र ढलान कार्य सकिएको छ ।

तोकिएको समय अनुसार आगामी वैशाख २ गते सुरुङ ब्रेक थू्र हुने तयारी गरिएको थियो । तर सोमबार मेलम्ची खानेपानी आयोजना विकास समितिले मन्त्री मगर र खानेपानी सचिवलाई जानकारी नै नदिई सुटुक्क सुरुङ निर्माणको म्याद थप गरेको छ ।

सुरुङ निर्माणको म्याद हिजो (चैत १२ गते) सम्म मात्रै रहेको थियो । आयोजना विकास समितिले ७९ दिन सुरुङ निर्माणको म्याद थपिदिएको छ । थपिएको म्याद अनुसार अब सुरुङ निर्माण कार्य आगामी जेठ ३१ सम्म सके हुने भएको छ ।

इटालियन कम्पनी सीएमसी डि रेभेनाकालाई आयोजनाले सुटुक्क म्याद थप गरेको विषयमा आयोजना प्रमुख केही बताउँन चाहँदैनन् । उनले सुरुङ निर्माणको काम जारी रहेको मात्रै बताए ।

‘सुरुङ निर्माणको काम जारी छ, सकेसम्म वैशाख २ गतेभित्र सुरुङ ब्रके थू्र गर्ने योजनामा छौं,’ उनले भने ।

डिजेल नपाएको बाहाना
आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेपछि ठेकेदारले अनेकौं बाहाना गरिरहेको छ । त्योमध्ये एउटा बाहाना हो, डिजल नपाएको । उसले नेपाली बजारमा डिजल नपाएको भन्दै काम गर्न नसकिएको बाहाना गर्दै आएको छ ।

‘फागुन ३० गतेदेखि चैत ४ गतेसम्म हामीले डिजेल पाएनौं, त्यसकारण काम गर्न सकिएन,’ ठेकेदारले आयोजनालाई उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।

१५३ मिटर सुरुङ खन्न बाँकी
आयोजनाको अब १५३ मिटर सुरुङ खन्न बाँकी छ । दैनिक ६ मिटर मात्रै सुरुङ खनिएको आयोजनाले जनाएको छ । कमजोर चट्टान भएका कारण सुरुङ खन्न अप्ठ्यारो भएको ठेकेदार कम्पनीको अर्काे तर्क छ ।

ठेकेदारले अहिले दैनिक गरिरहेको कार्य प्रगति हेर्दा सुरुङ निर्माण सक्न अझै २६ दिन लाग्ने देखिन्छ । खानेपानी मन्त्री मगरले २५ दिनमा सुरुङ ब्रेक थ्रू हुन्छ भनेको ७ दिन बितिसकेको छ ।

अब के गर्लिन मन्त्री मगर ?
खानेपानी मन्त्री बिना मगरले सुरुङ निर्माण कार्य २५ दिन भित्र सकिने बताए पनि सोमबार आयोजनाले सुटुक्क म्याद थपेपछि मन्त्री र आयोजना प्रमुखबीच विवाद हुने अबस्था सिर्जना भएको छ । मन्त्री मगरले अनौपचारिक कुराकानीमा के भएको हो बुझ्ने र धारणा सार्वजनिक गर्ने बताएकी छिन् ।

यो बिषयमा मन्त्रालयले आयोजनाका पदाधिकारीसँग तत्काल छलफल गर्ने जानकारी दिएको छ ।


क्लिकमान्डु