अर्थमन्त्री खतिवडाको त्यो अभिव्यक्ति, जसले २२ दिनमै लगानीकर्ताको २ खर्ब रुपैयाँ गुम्यो



काठमाडौं । २०६५ सालमा तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर बनाउन नहुँने अभिव्यक्ति दिए । तर, यसलाई लगानीकर्ताले अर्थमन्त्रीले सेयर बजारलाई जुवाघर भनेको भन्ने अर्थमा बुझे ।

त्यसको अर्को दिनदेखि घट्न थालेको सेयर बजार बाबुराम भट्टराई प्रधानमन्त्री हुने बेलासम्म आइपुग्दा २९२ अंकमा आयो ।

तर, त्यसमा भट्टराईको अभिव्यक्ति भन्दा बढी बैंकको ब्याजदर र समस्यामा परेका बैंक तथा वित्तीय संस्था कारक थिए ।

त्यसपछि खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्यो । संविधानसभाको अर्काे निर्वाचन भयो । सेयर बजार विस्तारै बढ्न थाल्यो । २०७२ सालमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी बृद्धि गर्ने नीति लियो । यो नीतिले सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद सेयरको बाढी नै ल्यायो ।

बोनस सेयर त कम्पनीहरुले नाफा कमाएपछि आफ्ना सेयरधनीलाई दिने कुरा हो । तर, हकप्रद सेयर लगानीकर्ताले लगानी गर्ने हो । बजार बढेको बेला लगानीकर्ता हकप्रदको पछाडि नै दौडिए ।

बजार आफ्नै गतिमा चल्दै थियो । संविधान बनेपछि पहिलो पटक संविधान र त्यसले ब्यवस्था गरेको संघीय प्रणाली कार्यान्वयन गर्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयो । सो निर्वाचनको मुखैमा एमाले र माओबादी केन्द्र गठबन्धन बनाएर चुनाबमा होमिए । बाम गठबन्धनको बहुमत आउने आकल चुनाब अगाडि नै सहजै गरियो ।

नेपालका लगानीकर्ता बाम सरकारसँग डराउँछन् भन्ने हल्ला फिजिएको छ । चुनाबपछि बाम गठबन्धनको सरकार बन्छ भन्ने हल्लासँगै सेयर बजारमा केही मन्दी आउन थाल्यो । प्रधानमन्त्री केपी ओलीले गत फागुन १४ गते डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाए । डा. खतिवडालाई सेयर बजारप्रति अनुदार ब्यक्तिका रुपमा प्रचार पहिलादेखि नै गर्दै आइएको थियो ।

डा. खतिवडा अर्थमन्त्री बन्ने वित्तिकै आफ्नो विरुद्ध प्रचार फैलाउनेहरुलाई नै सहयोग पुग्ने प्रकारको अभिब्यक्ति दिए । उनले नेपाली बजारमा तरलता संकटको समस्या दीर्धकालिन भएको र यसको समाधानको लागि विदेशी पुँजी नेपाल भित्र्याउनु पर्ने विविसी नेपाली सेवासँगको अन्तर्वार्तामा बताए । यति भनाईले सेयर बजार डराउनुको साटो हौसिनु पर्ने थियो । तर, उनले त्यस्तो विदेशी पुँजीलाई सेयर बजार र घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने थपे । उनको यही भनाइलाई सेयर बजार घटाउने मूल कारणको रुपमा अहिले प्रचार गरिएको छ ।

गत वर्षदेखि बैंक तथा वित्तीय संस्थामा कर्जा दिनको लागि पैसाको अभाव छ । अहिले त मुद्दती निक्षेपमा वाणिज्य बैंकको ब्याजदर ११ प्रतिशत छ । त्योपनि पैसा जम्मा गरेपछि अग्रिम रुपमा ब्याज रकम पाइने अवस्था छ ।

सेयर बजार जहिले पनि संवदनशील हुन्छ । विगतमा पनि शान्ति सम्झौता हुँदा होस् अन्य खालका घटनामा सेयर बजार एकैदिन उच्च अंकले बढ्ने र घट्ने भएको देखिएको छ ।

अर्थमन्त्री डा. खतिवडाको अभिव्यक्तिले मात्र सेयर बजार एकैपटक घट्ने भन्ने नहुनु पर्ने हो । तर, यसले घट्ने वातावरणलाई भने मद्दत गरेको छ । अहिले सेयर बजारमा मागभन्दा आपूर्ति बढी छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु पुँजी बृद्धिको कारण बोनस तथा हकप्रद ल्याउदै छन् ।

बैंकको ब्याजदरले ऋण लिएर लगानी गर्ने मात्र होइन, आफूसँग भएको बचतबाट पनि सेयर बजारमा लगानी गर्दा फाइदा नहुँने स्थिति छ अहिले ।

अर्थमन्त्री डा. खतिवडाले चिसिएको सेयर बजारमा हिउ थपे । उनले मोरङका उद्योगी ब्यवसायीसँगको अन्तरक्रियामा सेयर बजार घट्नै नहुने भन्ने हुदैन भन्दै सेयर बजारको यो निरासाप्रति आफूले कुनै सहयोग गर्न नसक्ने संकेत गरे । उनको यो अभिब्यक्ति सेयर बजारको लागि अर्काे खड्को सावित भयो । जसले गर्दा सोमबार बजार खुलेको केही समयमा नै अत्याधिक घटेका कारण सर्किट ब्रेक लगाउनु पर्ने अबस्था आयो ।

सोमबार मात्रै बजार पुँजीकरण ५८ अर्ब १७ करोड रुपैयाँले घटेको छ । अर्थात सेयरधनीको सो बराबरको सम्पत्ति एकै दिन गुमेको छ । नेप्से परिसूचक ५१.८९ अंकले घटेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सेयर बजारमा पहिलो पटक सर्किट ब्रेक लाग्यो ।

अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा आवाजहरु आइरहेका छन् । स्वभाविक रुपमा अर्थमन्त्रीको भनाईले सेयर बजार ठूलो कमी आउने कुरा हुँदैन । सेयर बजार घटेको समयमा अर्थमन्त्रीको अभिव्यक्तिले थप घटाउनलाई मद्दत भने गरेको हो ।

सोमबारको कारोबारपछि नेप्से परिसूचक ११६८ अंकमा आइपुगेको छ । यो भनेको २०६५ सालको सेयर बजारको उच्च बिन्दु हो ।

डा. खतिवडाले अर्थमन्त्री भएपछि सेयर बजारको बारेमा दुई पटक दिएका अभिव्यक्ति चर्चित भए । पहिलो पटक अर्थमन्त्री हुनासाथ बिबिसी नेपाली सेवालाई दिएको अन्तरवार्ता । त्यो अन्रतवार्तापछि खुलेको सेयर बजार एकैदिन सेयर बजार ३.०९ प्रतिशतले घटेको थियो । सो दिन लगानीकर्ताको ४७ अर्ब रुपैयाँ गुमेको थियो ।

त्यसपछि अर्थमन्त्री खतिवडाले आफुले सेयर बजारको बारेमा दिएको अभिव्यक्तिलाई गलत प्रचार गरिएको बताएका थिए । त्यसपछि कुनैदिन सामान्य अंकले सेयर बजार परिसूचक बढेपनि बजार घटि नै रहेको थियो ।

आइतबार बिराटनगरमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिले सेयर बजारमा सोमबार झन भूकम्प नै ल्याइदिएको छ । जसले लगानीकर्ताको सम्पत्ति एकैदिन ५८ अर्ब रुपैयाँले गुम्यो । अर्थमन्त्री खतिवडाले बिबिसीलाई दिएको अभिव्यक्तिपछि लगानीकर्ताको सम्पत्ति २ खर्ब ६ अर्ब रुपैयाँले घटेको छ । अर्थात त्यसपछि बजार पुँजीकरण सो रकम बराबरले घटेको हो ।


क्लिकमान्डु