महाविर पुनले उडाउने भए मेडिकल ड्रोन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाका लागि सहज




काठमाडौं । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ ।

नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानी तथा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन यस्तो ड्रोन प्रयोग गर्न सकिनेछ । ड्रोनमा आठ वटा पंखा र दुईवटा पखेटा छन् । जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए ।

‘अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ, नियमित उडानका लागि केही समय पर्खनु पर्ने हुन्छ,’ पुनले भने ।

पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहन्वय गरेर संचालन गरिने बताए ।

ड्रोनले औषधि लिएर गन्तव्यमा पुगी औषधि छोडेर एयरर्पोटमा फर्किने छ । ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने युवा व्यस्त रहेका छन् । केन्द्रमार्फत विद्युतीय सवारीसाधन, जलविद्युत् आयोजनाका सामाग्री ओसार पसार गर्ने सोचसमेत बनाइएको छ ।

केन्द्रको दिगो विकासका लागि तीन वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी बिक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आएका छन् ।

पुनले केन्द्र स्थापनाका लागि कास्कीको बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्ष अगाडि खरिद गरेको २८ रोपनी जग्गासमेत केन्द्रलाई दान गरेका छन् ।

म्याग्दी जिल्लाका साथै प्रवासमा रहेका म्याग्देलीले समेत केन्द्रलाई प्राथमिकतामा राखेर सहयोग गरेका पुनले जानकारी दिए ।
राससको सहयोगमा


क्लिकमान्डु