सेयर बजारमा लहडमा लगानी गर्नु हुँदैन : अर्थमन्त्री खतिवडा



विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आज यहाँ संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उहाँले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्ब लगानी आवर्श्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे ।

उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए ।

अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा कुरा हुने उनले बताए ।

मन्त्री खतिवडाले असमान कार्य गर्नेबाट असमान कर नै असुल हुने र असल करदाता राज्यको सम्मानित नागरिक भएकाले उनीहरुको सम्मान हुने बताए । उनले भन्सारका कर्मचारीले मुस्कानसहितको काम गर्ने भएकाले सोहीअनुसार व्यापारीले इमान्दारीका साथ कर वुझाउन पर्नेमा जोड दिँदै कुनै अन्य दस्तुर नबुझाउनसमेत आग्रह गरे ।

भन्सारको कारणले व्यापारीले आयात गरेको सामान ढिलाई नभएको स्पष्ट गर्दै उनले पूर्वाधारको कमी र एकीकृत भन्सार जाँच चौकीको निर्माणमा ढिलाइले समस्या उत्पन्न भएकोले चाँडै नै समस्या समाधान हुने प्रष्ट पारे ।

अर्थमन्त्री खतिवडाले बजारको माग र पूर्तिको सिर्जनाका कारण शेयरको समस्या उत्पन्न भएको बताउँदै लहडवाजीमा शेयर लगानी नगर्न आग्रह गरे । उनले निजी क्षेत्रबाट निर्माणाधीन पूर्वाधारमा विदेशी होइन स्वदेशी गुणस्तरीय सामाग्रीको प्रयोग गर्नु पर्नेमा जोड दिए । रासस


क्लिकमान्डु