साढे ४ करोड लगानीमा स्वर सम्राट नारायण गोपालको संग्रालय बन्ने




काठमाडौं । स्वर सम्राट नायारण गोपालको सम्झना स्वरुप ‘नारायण गोपाल पेमला सुरमय गीत गंगा’ (संग्रालय) बन्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ र नारायण गोपाल ट्रष्टको सहकार्यमा संग्रालय बनाउन लागिएको हो ।

काठमाडौंको चक्रपथमा ४ करोड ५० लाख रुपैयाँको लागतमा संग्रालय बनाउन लागिएको हो । २० आना जमिनमा बन्ने संग्रालय ४ तलाको हुनेछ । सो जमिन स्वर सम्राट नारायण गोपाल ट्रष्टको नाममा छ ।

स्वर सम्राट नारायण गोपालको सम्झना स्वरुप संग्रालय निर्माण गर्न लागिएको वडा नम्बर ३ का अध्यक्ष दिपक केसीले जानकारी दिए ।

‘नारायण गोपाल नेपालका एक प्रतिभाशाली स्रष्टा हुन्, स्रष्टाको पहिचान रक्षाको लागि संग्रालय बनाउन लागिएको हो,’ केसीले क्लिकमाण्डूसँग भने ।

स्वर सम्राटको पहिचान रक्षा गर्न स्थानीय तहले अग्रसरता लिएर संग्रालय बनाउन लागिेको केसीको भनाइ छ ।

‘स्रष्टाको पहिचान आगामी पिढीसम्म पुर्याउने स्थानीय सरकारको दाहित्व हो, स्थानीय सरकार र स्थानीयहरुको सहकार्यमा यस्ता कार्य हुन आवश्यक छ,’ केसीले भने ।

उनी नारायण गोपाल संरक्षण कोषका सचिव पनि हुन् । उनका अनुसार स्थानीयहरुले आफ्नै लगानीमा नारायण गोपाल संग्रालय बनाउन तयार छन् ।
संग्रालय निर्माणका लागि १ करोड रुपैयाँ काठमाडौं महानगरबाट बजेट विनियोजन भइसकेको छ । बाँकी ३ करोड ५० लाख रुपैयाँ स्थानीय र संघसंस्थाको सहयोगबाट जुटाउने केसीको योजना छ ।

संग्रालय कस्तो हुन्छ ?
ग्राउण्ड फ्लोरमा संग्रालय घुम्म आउनहरुको सवारी साधन पार्किङ स्थल बननेछ । दोस्रो तलामा पुस्तकालय बन्नेछ । पुस्तकालयमा नारायण गोपालले जीवनकालमा प्रयोग गरेका वस्तुहरु संग्रह गरी राखिने छ । यस्तै नारायण गोपालले गाएको गीतका एल्बमहरु, उनले प्रयोग गरेको मोटरसाइकल, किताब, बाद्यबाजा, पुरस्कार, ऐतिहासिक फोटोलगायतका सामग्रीहरु राखिने छन् । संग्रालय घुम्न आउने दर्शकले नायाराण गोपालको व्यक्तित्वको बारेमा जानकारी प्राप्त गर्न सक्ने अध्यक्ष केसी बताउँछन् ।

तेस्रो तलामा नारायण गोपालको सपनाको रुपमा रहेको गीत गंगा अटिरिएम हलको रुपमा विकास गरिने केसी बताउँछन् । ‘नारायण गोपालको गीत गंगा अटिरिएम हल बनाउने सपना थियो,’ केसीले भने । सो हलको सिट क्षमता ७५ जनाको हुनेछ ।

संग्रालयको चौथो तलालाई सभा हलको रुपमा प्रयोग गरिने केसीले बताए । सभा हललाई विवाह, ब्रतबन्ध, पास्नीलगायतका कार्यको प्रयोजनका लागि प्रयोग गरिनेछ । सभा हलमा हुने विभिन्न कार्यक्रमबाट उठ्ने पैसाबाट संग्रालयको संरक्षण गर्न मद्दत पुग्ने केसीले अपेक्षा राखेका छन् ।


क्लिकमान्डु