‘जलविद्युतका सेयर लगानीकर्ताले किन प्रतिफल पाएनन् ? म खोजी गर्छु’




काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले जलविद्युत कम्पनीले सेयरधनीलाई प्रतिफल नदिएको चासो देखाएका छन् ।

आयोजनाका प्रवद्र्धकले बढी फाइदा लिइरहेको र सेयरधनीले कुनै प्रतिफल नपाएको भन्ने गुनासो आएको भन्दै मन्त्री पुनले यसको खोजी गर्ने बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले उर्जामन्त्री पुनसहित सरोकारवालासँग गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘जलविद्युत आयोजनाका प्रवद्र्धकले बढी फाइदा लिइरहेका र सेयरधनीलाई कुनै प्रतिफल नदिएका भन्ने गुनासो छ, किन यस्तो गुनासो आएको हो, म खोजी गर्छु,’ मन्त्री पुनले भने ।

उनले जलविद्युत क्षेत्रको विकासमा आफू प्रतिवद्ध भएको पनि बताए । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईले उर्जा क्षेत्रमा घोषणा बढी काम कम भएको भन्दै गरेको टिप्पणीको पनि उनले जवाफ दिए ।

‘यो सरकार ५ बर्षको लागि स्थायी सरकार हो, हामीलाई बोल्नेमात्र छुट छैन, बोलेका कुरा पूरा गर्नुपर्ने दायित्व छ, सुरुमा तपाइहरुले बोल्न लगाउनु हुन्छ, हामी पनि बोलिदिन्छौं, तर म बोलेका कुरा पूरा गर्छु, तपाइहरु मेरो काम पनि हेरेर राम्रो नराम्रो भन्नुस्,’ मन्त्री पुनले भने ।

सरकारले लिएको आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न जलविद्युत क्षेत्र सबैभन्दा उत्तम रहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दशकमा दोहोरो आर्थिक बृद्धि हासिल गर्ने बताएको स्मरण गर्दै उनले यसको लागि उर्जा क्षेत्रको विकास र समृद्धि अपरिहार्य भएको धारणा राखे ।


क्लिकमान्डु