कमोडिटिज एक्सचेन्जमा बैंकर पाँडे र व्यवसायी दुगडले लगानी गरे



काठमाडौं । बैंकर पृथ्बीबहादुर पाँडे र व्यवसायी कुमुद दुगड मिलेर कमोडिटि एक्सचेन्जको व्यवसायमा लगानी गरेका छन् ।

केहीदिन अघि मात्रै धितोपत्र बोर्डमा नेपाल मर्कनटाइल एक्सचेञ्जले संचालन अनुमतिको लागि आवेदन दिएको छ ।

जसको प्रमुख लगानीकर्तामा पाँडे र दुगड रहेका छन् ।

‘पृथ्बीबहादुर पाँडे, कुमुद दुगड लगायतले केही दिन अघिमात्रै बोर्डमा नेपाल मर्कनटाइल एक्सचेञ्ज नामक कमोटिडिको कारोबार गर्ने कम्पनी खोल्न आवेदन दर्ता गर्नुभएको छ,’ धितोपत्र्र बोर्डका निर्देशक मुक्ति श्रेष्ठले क्किमाण्डूसँग भने ।

पाँडे र दुगडसँगै इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट क्यापिटल, दुगड ग्रुप, कुमारी बैंकलगायतका प्रवद्धक रहेका छन् । उनीहरु सबैको ५÷५ प्रतिशतका दरले सेयर स्वामित्व छ ।

५० करोड रुपैयाँ चुक्ता पुँजी राखेर नयाँ कम्पनी खोल्न आवेदन दर्ता गरिएको हो ।

नयाँ ऐन आएपछि बोर्डमा दोस्रोपटक नयाँ कम्पनी खोल्न प्रस्ताब गरिएको हो । एनआरएन अध्यक्ष भवन भट्टसहितका एनआरएनहरुले यसअघि नै नयाँ कम्पनी खोल्न प्रस्ताब दर्ता गराइसकेका छन् ।

गत भदौ ११ गते कमोडिटिको नयाँ ऐन आएको थियो । र, उक्त ऐन कार्यान्वयनका लागि गत मंसिर ९ गते नियमावली आएको थियो ।

नयाँ ऐन आएपछि यसअघि चल्दै आएका कमोडिटिको कारोबार गर्ने कम्पनीहरु गैरकानूनी भइसकेका छन् । उनीहरुले संस्था संचालन गर्ने हो भने नयाँ एने अनुसार नयाँ कम्पनी दर्ता गर्दाको सबै प्रक्रिया पूरा गर्नुपर्ने बोर्डका निर्देशक श्रेष्ठले बताए ।

विगतमा नेपालमा कमोडिटीको कारोबार गर्ने कम्पनीहरुले अर्बौंको कारोबार गर्दै आएका थिए । तर, कमोडिटिज सम्बन्धी ऐन, नियम नै नभएकाले गैरकानूनी भएको आवाज बुलन्द भएपछि नयाँ ऐन बनाइएको हो ।

नियमनको अभावमा कमोडिटिज कम्पनीहरुमा ठगी समेत बढेको थियो । जसकारण यो बजारको विश्वास गुमेको बताइन्छ । तर, यसरी ठूला घरानाहरु प्रवेस गरेपछि कमोडिटिज मार्केटको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।


पुष्प दुलाल