५ वर्षमा आइएनजिओले गरे नेपालमा ६५ अर्ब रुपैयाँ खर्च



काठमाडौं । आर्थिक वर्ष २०६९/७० मा नेपालमा संचालिन अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले गरेको खर्च ४ करोड अमेरिकी डलर थियो ।

यसपछिको ५ वर्षको अवधीमा अर्थात गत आर्थिक वर्ष २०७३/७४ सम्म आइपुग्दा आइएनजिओले १८ करोड ६५ लाख अमेरिकी डलर खर्च गरे । आर्थिक बर्ष २०७२/७३ मा आइएनजिओले गरेको खर्चको रकम १६ करोड ८३ लाख अमेरिकी डलर थियो ।

आइएनजिओले नेपाललाई ५ वर्षमा ६५ अर्ब रुपैयाँभन्दा बढी रकम सहयोग गरेको देखिएको छ ।

अर्थमन्त्रालयका अनुसार ५ वर्षभित्रमा नेपालमा आइएनजिओले ६४ करोड ५१ लाख रुपैयाँ आफुखुसी खर्च गरेका छन् ।

आइएनजिओले ठूलो मात्रामा पैसा खर्च गरेपनि यसको नतिजा भने राम्रो देखिएको छैन । अर्थमन्त्रालयले प्रकाशित गरेका विकास सहायता प्रतिवेदन अनुसार आइएनजिओले आफुखुसी गर्ने खर्च भने बर्सेनि बढ्दो क्रममा रहेको देखिन्छ ।

२०७२ सालमा गएको भूकम्पसँगै नेपालमा सहयोग गर्न आउने आइएनजिओको संख्या समेत बढेको छ । तर, आइएनजिओको सहयोगले नेपालको विकासमा ल्याएको परिवर्तनको खास तथ्यांक भने छैन ।

अर्थमन्त्रालयका एक अधिकारी आइएनजिओको नाममा हुने खर्च बर्सेनि बढेपनि यसको कामबाट ठूलो परिवर्तन नआएको बताउँछन् ।

‘आफूले रोजेका परियोजनामा मनलाग्दो तरिकाले आइएनजिओको खर्च देखिन्छ, जुन अनुपातमा पैसा खर्च भएको छ, यसबाट खासै ठूलो नतिजा आएको छैन,’ ती अधिकारी भन्छन् ।

भूकम्पपछि भने खुल्ला रुपमा धर्म प्रचारको नाम नै भएका र मुख्य रुपमा धर्म परिवर्तनको विषयमा लबिङ गर्ने आइएनजिओको पनि प्रवेश भएको छ ।

अर्थमन्त्रालयका अधिकारीहरु संसद्ले नै कानून बनाएर आइएनजिओले गर्ने खर्चको विषयमा कठोर हुनुपर्ने बताउँछन् ।

‘आइएनजिओले दिने सहयोगले देशको विकास हुन्छ भन्ने भ्रम त्याग्नु पर्यो, देश विकासको लागि चाहिने भनेको बैदेशिक लगानी हो, आइएनजिओ सहयोग होइन,’ अर्थका अर्का एक अधिकारी भन्छन् ।

अर्थमन्त्रालयले हरेक वर्ष विकास सहायता प्रतिवेदनमा आइएनजिओल गर्ने खर्चको रकमको जानकारी दिन्छ । कस्ता कार्यक्रममा आइएनजिओले खर्च गरेका छन् त्यसको पनि विषय उल्लेख हुन्छ ।

पछिल्ला २ वर्षमा अधिकांश आइएनजिओ भूकम्प प्रभावितको लागि केन्द्रीत भएको देखिन्छ । कार्यक्रम पनि भूकम्प प्रभावित जिल्लामा बढी छ । तर, यसरी भएको खर्चले भूकम्प प्रभावितलाई ठूलो सहयोग भएको छैन ।

कतिपय स्थानमा घर निर्माणभन्दा चर्च निर्माणले प्राथमिकता पाएको समाचार समेत प्रकाशित भइरहेका छन् ।

अर्थमन्त्रालयका अनुसार आइएनजिओले गर्ने खर्च सरकारी बजेट कार्यक्रममा समावेश हुँदैन । कतिपय सरकारी कार्यक्रम समेत आइएनजिओको पैसामा संचालित छन् । बर्सेनि गैरबजेटको नाममा आइएनजिओको नाममा जाने रकमले विकासलाई भन्दा पनि आइएनजिओे आफ्ना एजेण्डालाई मात्र प्रवद्र्धन गर्न सहयोग गरेको छ ।

‘कतिपय आइएनजिओको सवालमा सरकारी कर्मचारी मै रुची छ, कतिपय आइएनजिओमा राजनीतिक दलका नेताको रुचि रहेको छ,’ आइएनजिओको गतिविधिलाई नजिकबाट हेरिरहेका एक उच्च प्रशासक भन्छन् ।

बर्सेनि बढ्दै गएको आइएनजिओको जथाभावी खर्चको विषयमा उच्च अधिकारीहरु सहमत छैनन् । यसलाई नियन्त्रण नै गर्नुपर्ने अवस्था आएको भन्ने बुझाई भएपनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ ।


क्लिकमान्डु